मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयले मातहतका १४ प्रहरी कार्यालयसँग कार्यसम्पादन सम्झौता गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को लागि कार्यसम्पादन सम्झाैता गरेकाे हाे । बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुले मासिकरुपमा सम्पादन गर्नुपर्ने कार्यहरुको सुचक निर्धारण गरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) प्रकाशजंग कार्की र प्रदेश प्रहरी मातहतका कार्यालयका प्रमुखहरुसँग कार्य सम्पादन सम्झौता भएकाे हाे ।
डिआइजी कार्कीले मातहत कार्यालय प्रमुखहरुबीच भिडियो कन्फ्रेन्समार्फत कार्यसम्पादन सम्झौता गरेका हुन् । एक वर्षे कार्य अवधिमा कार्य सम्पादन सम्झौतामा निर्धारण गरेका सूचकहरुको मासिक मूल्यांकन गरी मातहत कार्यालयहरूको कार्य सम्पादनको स्तरसमेत निर्धारण गरिने प्रदेश प्रहरी कार्यालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।
“कार्य सम्पादन सम्झौता एवम् मासिक मुल्यांकन मापदण्डको शुभारम्भ” कार्यक्रम मार्फत बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका १० वटा जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालय र २ वटा गण मुख्यालय गरी १४ वटा प्रत्यक्ष मातहतका कार्यालयहरुसंग कार्य सम्पादन सम्झौता गरीएको प्रदेश प्रहरी कार्यालय बागमतीले जानकारी दिएकाे छ ।
प्रहरीको प्रशासनिक कार्यका साथै सेवा प्रवाहलाई प्रणालीबद्ध बनाउने र शान्ति सुरक्षा एवम् अपराध रोकथाम तथा नियन्त्रण लगायतका कार्यहरुको व्यवस्थापनलाई सुदृढ, विश्वसनीय र व्यवसायीक बनाउने उद्देश्यले कार्यसम्पादन करार गरिएको हो । प्रत्येक प्रहरी कार्यालयहरुलाई कार्य सम्पादनको सुचक निर्धारण गरी सम्झौता गर्ने कार्यालयहरुले सम्पादन गरेका कार्यहरुको मासिक मुल्यांकन गर्ने मापदण्ड समेत शुभारम्भ गरीएको प्रवक्ता नवराज अधिकारी जानकारी दिए ।
शान्ति सुरक्षा, बिपद व्यवस्थापन, अपराध अनुसन्धान एवम् नियन्त्रण, आन्तरिक व्यवस्थापनका साथै प्रहरी कर्मचारीहरु दक्षता एवम् उत्प्रेरणा अभिबृद्धि र प्रहरी सेवा प्रवाहसंग सम्बन्धीत बिषयहरुलाई प्रमुख लक्ष्य निर्धारण गरी सो अन्तर्गतका सम्पादन गर्नुपर्ने कार्य सुचक निर्धारण गरिएको छ । मातहत कार्यालयले सम्पादन गरेका कार्यहरुलाई मासिक रुपमा मुल्यांकन गरी देखीएका कमिकमजोरीहरुलाई तत्कालै सुधार गर्ने उद्धेश्य सहित कार्य सम्पादन सम्झौता गरीएको बताइएकाे छ ।
बागमती प्रदेश प्रहरी कार्यालयले गत आर्थिक बर्ष देखी शुरुवात गरेको कार्य सम्पादन सम्झौता र मातहत कार्यालयको मासिक मुल्याङकन प्रणालीलाई यस बर्ष थप परिमार्जन र बस्तुनिष्ठ बनाउँदै कार्य सम्पादन सुचकहरु निर्धारण गरीएको प्रवक्ता अधिकारी जानकारी दिए ।