- सन्देश घिमिरे
बिर्सिएर इतिहास
तिम्रा पाइलाहरु मोडिएछन अन्त कतै
दशगजाका सिमा स्तम्भ मिल्किएछन यसै कतै
अनि छिमेकीले पेल्दैछ साँध
हवाला दिदै तिम्रो मनोदशा
युग बाचेर आर्जेको त्यो उपमा
यसै नाङ्गोपारी
किन बिक्दैछन कौडीको भाउमा आज
यो जवाफ समयले भविष्यमा हिसाब सहित माग्नेछ तिमीसगं
भनिन्छ नि भाइ फुटे गवार लुटे
हो त्यसरीनै हाम्रा अस्मिता लुटिनेछन दिन दहाडै
अझ बात गर्दै छौ तिमी समृद्धिको
सपनाभन्दा मिठा बिकासको
युवाले पासपोर्ट च्यातेर
स्वदेशमा गरेको उद्द्मताको
तर बिपरित यहाँ
तिमी युवाहरु निर्यात गर्दैछौ
बदलामा रेमिटान्स भित्र्याउन
खेती गर्दैछौ शब्दमा सिमित सम्पन्नताको
भ्रष्टाचारमा चुर्लुम्म डुबेको शुसानको
लाज पनि लजाउने गरि नैतिकताको पाठ सिकाउन तल्लीन छौ तिमी
यस कारण कि,फगत एक कप चिया गफमा सम्पुर्ण
राजनीतिको इतिवृतान्त बताउने हामी
हाम्रा सपनाहरु हर चुस्कीसगैं साट्दै छौं यहाँ ।