मकवानपुर / प्रदेश सभा सदस्य मुनु सिग्देलले किसानको जीवनस्तर उकास्नको लागि सरकारले खासै ध्यान नदिएको बताएकी छिन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्वीकृत बार्षिक कार्यक्रम सार्वजनिकरण गोष्ठीमा सोमबार उनले यस्तो बताएकी हुन् ।
कार्यक्रम प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले कृषिप्रधान देशको कृषि क्षेत्रमा आधुनिकताको लागि सरकार आवश्यकता अनुसार गम्भीर नभएको बताए ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले स्थानीय तहहरुसँगको समन्वय गरेर कार्यक्रमहरू लक्ष्यित वर्गसम्म पुर्याउन पर्ने बताए । वास्तबिक किसानसम्म नपुग्दा अनुदानमा आधारित कार्यक्रमको प्रभावकारिता नहुने बिष्टले बताए । केन्द्रले पशुको शिविर सन्चालन गर्नुपर्ने आवश्यकता रहेको बिष्टले औल्याए । यसैगरी इन्द्र सरोवर गाउँपालिका अध्यक्ष जीवन लामाले स्थानीय तहमा बजेट बिनियोजन हुंदा र कार्यान्वयनमा पठाउंदा राजनीतिक विभेद हुनेगरेको गुनासो गरे । गाउँपालिकामा पशु बीमालगायतको कार्यक्रम समन्वय र सहकार्य नभएको कारण पशुको लागि छुट्याइएको बजेट फ्रीज भएकोमा उनले आक्रोश व्यक्त गरे ।
कार्यक्रम बिज्ञ केन्द्रका प्रमुख सुशील केसी, डाक्टर ध्रुब डीसीले स्वीकृत कार्यक्रमको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम जिल्लाका स्थानीय तहका प्रमुखहरू तथा पत्रकारहरुको उपस्थिति रहेको विज्ञ केन्द्रका प्रदीप सापकाेटाले बताए ।
