मकवानपुर / कोभिड महामारीको बाबजुद पनि उच्च अदालत पाटन हेटौंडा इजलासले कुल दर्ता भएका मुद्दाहरूमध्ये ८७.९६ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ ।
उच्च अदालत पाटन, हेटौंडा इजलासले गत आर्थिक बर्ष २०७७/७८ मा लक्ष्यको ८७.९६ प्रतिशत मुद्दा किनारा लगाएको हो । अदालतले गत वर्षमा ९ सय ३९ मुद्दाको फर्स्यौट गर्ने लक्ष्य लिएकोमा ८ सय २६ मुद्दा फर्स्यौट गर्न सकेको अदालतको सूचना अधिकारी केशवराज कौशिकले बताए ।
सोमबार उच्च अदालत पाटन हेटौंडा इजलाशमा पत्रकार सम्मेलनको आयोजना गरेर अदालतले गत वर्षको लक्ष्य र प्रगति विवरण सार्वजनिक गरेको थियो ।
आर्थिक वर्ष ७७/७८ मा अघिल्लो वर्षबाट ४०८ थान मुद्दाको जिम्मेवारी सरेर आएको थियो । यस्तै गत वर्षमा १ हजार ३७ थान नयाँ मुद्दा दर्ता भएको थियो । गत वर्षमा १४ सय ४५ मुद्दाको लगत भएकोमा ८ सय २६ मात्र फर्स्यौट भएको हो । यस्तै उच्च अदालत पाटन हेटौंडा इजलासले चालू वर्षमा ११ सय ४९ नयाँ मुद्दा दर्ता हुने अनुमान गरेको छ ।
यो वर्षको लागि गत वर्षबाट ६ सय १९ थान मुद्दाको जिम्मेवारी सरेर आएको छ । चालू वर्षमा ११ सय ९४ थान मुद्दा किनारा गर्ने लक्ष्य लिएको अदालतका सुचना अधिकारी केशवराज कौशिकले जानकारी दिए । पत्रकार सम्मेलनमा उच्च अदालत पाटन, हेटौंडाका मुख्य न्यायाधीस मोहम्मद साविर हुसेन, उप–रजिष्ट्रार कैलाश भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
उच्च अदालत हेटौंडा इजलासबाट ८७.९६ प्रतिशत मुद्दा फर्स्यौट
