मकवानपुर / कोरोना भाइरसको संक्रमण भएका तथा अन्य स्वास्थ्य समस्याको कारण उपचारको क्रममा अक्सिजन लगाउनु पर्ने अवस्थाका बिरामीलाई अब मकवानपुरको हेटौंडामा सहज उपचार हुने भएको छ ।
राम्रो उपचार सेवा नपाएपछि “रिफर सेन्टर” भनेर वेवास्ता गरिदै आइएको हेटौंडा अस्पताललाई पछिल्लो समय बागमती प्रदेश सरकारले भरपर्दो र विश्वासिलो सेवा प्रदान गर्ने अस्पतालको रुपमा चिनाउँदै आएको छ ।
प्रदेश सरकारको मातहतमा सञ्चालन सुरु गरिएपछि स्थानीय संघसंस्थाहरुसँगको सहकार्यमा अस्पताललाई भौतिक रुपमा पनि बलियो बनाउने क्रम जारी छ । आइतबार उद्योग संघले हेटौंडा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । कोरोना संक्रमणका बिरामी अस्पतालमा थपीदै गएपछि निजी क्षेत्रका उद्योगी, व्यावसायीहरुको सहयोगमा उद्योगसंघ मकवानपुरले प्लान्ट खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको हो । आइतबार अक्सिजन प्लान्टको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे । यस प्लान्टबाट दैनिक १ सय २० वटा शिलिण्डरसम्म अक्सिजन उत्पादन हुनेछ । ३१ जना सहयोगी व्यवसायीहरुबाट रकम संकलन गरेर उद्योगसंघ मकवानपुरले एक करोड ३६ लाख ९५ हजार रुपैयाँ लागतमा अक्सिजन खरिद गरेर अस्पताललाई हस्तान्तरण गरिएको हो ।
उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोख्रेलले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरे । यसअघि हेटौंडा उपमहानगरपालिकाले पनि अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिसकेको छ ।
यसैगरी अस्पतालमा केही दिन अघिबाट क्यान्सर पीडितलाई डायलासिस सेवा पनि सुरु गरिएको छ । अब मकवानपुरका मृगौलाका बिरामीहरुले चितवन, काठमाण्डौ धाउनु पर्ने छैन । डायलासिस सेवा लिनका लागि चितवन र काठमाण्डौ जादै आएका केही विरामीले अस्पतालबाट सेवा लिदै आएका छन् ।
कोरोना महामारी चलिरहेको बेला हेटौंडा अस्पताललाई कोरोना अस्पतालको रुपमा प्रयोग गरिएको छ । कोरोनाको दोस्रो लहरका बिरामीहरुलाई अस्पतालमा अक्सिजनको अभाव भएर बिरामीहरु अन्यत्र रिफर गर्नु परेको थियो । ‘अब त्यस्तो समस्या व्यहोर्नु पर्दैन,अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले भने,“विगतको जस्तो अक्सिजनकै अभावमा बिरामी अब रिफर गर्नु पर्दैन ।”
अस्पतालमा आइतबार ३९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । अस्पतालमा १७ बेड आईसीयू, १६ बेड एचडीयू, भेन्टिलेटरसहितको ६ वटा र आकस्मिक कक्षमा ८ वटा बेड रहेका छन् । अस्पतालमा अहिले १ सय २० बेड छन् ।
सेवा अझै सशक्त पर्छौः मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा अस्पतालमा अझै सेवा सशक्त पार्नुपर्ने आवश्यकता आफूले देखेको बताएका छन् । प्रदेश मातहतमा सञ्चालन हुनथालेपछि पनि अस्पतालमा स्वासथ्यकर्मीसंगै सेवामा विस्तर गनुपर्ने आवश्यकता रहेको र आफू त्यसको लागि लागिपरीरहेको मुख्यमन्त्री पौडेलले बताए ।

“विगतमा ३ जना मात्र डाक्टरले दिएको सेवा अहिले ५० जना भन्दा बढी डाक्टर अहोरात्र खटिरहनुभएको छ” मुख्यमन्त्री पौडेलले भने “अबको ६ महिनामा सबै प्रकारको स्वास्थ्य सेवा दिने अस्पताल बनाइने छ, २ वर्ष भित्रमा पाँच सय बेडको अस्पताल निर्माण गर्ने लक्ष्यका साथ भवन निर्माणको काम भइरहेको छ ।”
प्रदेश मातहतका अस्पतालमा अक्सिजन प्लान्ट र पीसीआर मेसिन अनिवार्य गर्दै जाने सोचका साथ काम अगाडि बढाइएको प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले बताइन् ।