सरकार गठनको एक महिना पुग्दा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन् । नेकपा एमाले माधवकुमार नेपाल समूहलाई सरकारमा ल्याउने प्रयास जारी रहेकाले मन्त्रीमण्डल विस्तारमा ढिलाइ हुँदै आएको छ ।
नेपाल समूहले सरकारमा सहभागी हुने/नहुने कुनै निर्णय गर्न सकिरहेको छैन । सो समूहलाई सरकारमा सहभागी नगराएको खण्डमा सरकारले संसद्मा ल्याउने विधेयक पास हुन सक्ने अवस्था नरहने भन्दै प्रधानमन्त्री देउवाले केही दिन कुरेरै नेपाल समूहलाई सरकारमा सहभागी हुने नीति लिएको बताइएको छ ।
नेपाल समूहलाई सरकारमा ल्याउन सरकार गठन भएको यस अवधिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई निवासमै पुगेर दर्जनौंपटक भेटवार्ता गरिरहेका छन् । तर, नेपाल समूहमै सरकारमा सहभागी हुने विषयमा मतभेद रहेको छ ।
मन्त्रीमण्डल विस्तारमा नेपाल समूहको प्रतीक्षा भइरहेका बेला यता पार्टीभित्रको आन्तरिक विवाद पनि समाधान हुन सकिरहेको छैन । पार्टीको केन्द्रीय कमिटीको बैठकले विधान सम्मेलन गर्ने निर्णय गर्दै स्थानीय पार्टी कमिटीमा पार्टी सदस्यता नवीकरणको कामलाई तीव्रता दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई समान अधिकारसहितको अध्यक्ष मान्न नसकिने अडान लिएपछि एमालेको एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
नेपाल समूहले दैनिकरूपमा छलफल जारी राखे पनि पार्टी एकता गर्ने वा देउवा नेतृत्वको सरकारमा सहभागी हुने विषयमा निर्णय गर्न सकिरहेको छैन । माधव समूहका सांसद मेटमणि चौधरी देउवा सरकारलाई विश्वासको मत दिएका कारण सरकारमा पनि सहमति हुनुपर्नेमा एकमत रहेको बताउनुहुन्छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेपाल समूहका २२ सांसदले नै सरकारमा सहभागी हुनुपर्ने दबाब नेता नेपाललाई दिँदै आएका छन् । नेपाल समूहभित्र नै सरकारमा सहभागी हुने नहुने विषयमा विवाद हुँदा सरकार गठन भएको एक महिनाको अवधिमा पनि नेपाल समूहले कुनै निर्णय लिन सकिरहेको छैन ।
सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र पनि मन्त्री बन्ने विषयलाई लिएर विवाद रहेको छ । कांग्रेस माओवादी र जसपाले मन्त्री छनोट गर्न नसक्दा त्यसको बहाना भने नेपाल समूहलाई सरकारमा सहभागी गराउनका लागि ढिला भएको बताउने गरिएको छ । तर, नेपाल समूहका एक नेता मन्त्रीमण्डल विस्तार गर्न आफूहरु बाधक नभएको बताउँछन् । शुरुमा माधव नेपालले मन्त्रीमण्डललाई पूर्णता दिएर अगाडि बढ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको हो, तर के कारणले हो अझै मन्त्रीमण्डल विस्तार हुन सकिरहेको छैन ।
नेपाल समूहले सरकारमा सहभागी हुने निर्णय गरेको अवस्थामा मन्त्रीमण्डल विस्तार गर्दा पुनः मन्त्रीबाट हटाउनुपर्ने अवस्था सिर्जना हुन नदिन अझै केही दिन कुरेर सकेसम्म नेपाल समूहलाई सरकारमा सहभागी गराउने रणनीति प्रधानमन्त्री देउवाले बताउनुभएको छ । तर, नेपाल समूह भने जुट्न पनि नसक्ने र सरकारमा पनि सहभागी हुन नसक्ने अवस्थाबाट जुग्रिँदै आएको छ ।
मन्त्री बन्नका लागि कांग्रेस, माओवादी र जसपाभित्र पनि हानाथाप छ । जसपाभित्र कसको नेतृत्वमा सरकारमा जाने विषयमा मतभेद शुरु भएको छ । सरकारमा सहभागी हुने विषयलाई लिएर पार्टी अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराईबीच विवाद चुलिँदै आएको छ ।
सरकार गठन भएको एक महिना बितिसक्दा समेत सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागवण्डा र कुन–कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा अझै टुंगो लाग्न सकेको छैन ।
परिस्थिति जटिल : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक परिस्थिति जटिल बन्दै गएको बताएका छन् । उनले माधवकुमार नेपालको अडानले टिकेकोे शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने संकेत गरेका हुन् ।
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले परिवर्तन उल्ट्याउन खोज्ने शक्तिले अहिलेको गठबन्धनलाई भत्काएर पुरानै सरकार ल्याउन खोजिरहेको निष्कर्ष सुनाउनुभएको छ । प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने– ‘नयाँ सरकार गठन भए पनि प्रतिगमको घण्टी बजी नै रहेको छ, माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ ।’ उनले जसपाले वैधानिकता पाएकाले २०, कांग्रेस र माओवादीको १ सय ११ जोड्दा १ सय ३१ मात्र पुग्ने अवस्था हेर्दा अहिले सरकार अल्पमतमा रहेको बताए ।
प्रचण्डले प्रधानमन्त्रीले नाम माग्नासाथ स्थायी कमिटीको बैठक राखेर मन्त्रीका नाम दिन सक्ने बताउँदै दलभित्रको अवस्थाका कारणले मन्त्रीमण्डल विस्तारमा ढिलो भएको बताए । ‘अहिले प्रधानमन्त्री आफैंले कांग्रेस कार्यसमितिको बैठकपछि गरौं भन्नुभएको छ ।’ –उनले भने ।
नेपालसमाचारपत्र (newsofnepal.com) मा प्रकाशित समाचार साभार गरिएकाे