मकवानपुर । कोरोना भाइरसकाे माहामारीका कारण विगत २ वर्षदेखि देशमा शैक्षिक गतिविधि प्रायः ठप्प झै रहेको छ । भाैतिक उपस्थितीमा कक्षा संचालन नभएकाे तथा शैक्षिक गुणस्तरीयता नभइरहेकाे बेला हेटाैडामा काेराेना भाइरस कोभिडका कारण शिक्षामा सृजना भएका चुनौती र अवसर विषयमा अन्तरक्रिया कार्यक्रम गरिएकाे छ ।
हेटौंडा क्याम्पसले कोभिड १९ का कारण शिक्षा क्षेत्रमा सृजित भएको अवसर र चुनौती विषयमा जिल्लाका प्रतिनिधि शिक्षक र पत्रकारहरु विच अन्तरक्रिया कार्यक्रम गरेको हाे । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय हेटौडाका प्रमुख कृष्णप्रसाद घिमिरेले शिक्षालाई व्यवस्थापन गर्न आर्थिक चुनौती रहेको बताए ।
कोरोनामय समयलाई अवसरको रूपमा लिई नीति, नियम बनाई अबको शिक्षाको कार्यदिशा बनाउनु आवश्यक मात्र नभएर अनिवार्य रहेको उनले बताए । यदि यस मोडमा पनि शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सकिएन भने हामीले ठूलो अवसर गुमाउनेछौँ । भावी सन्ततीहरूले समेत पुरानै शिक्षा प्रणालीमा अभ्यस्त भई नयाँ सम्भावनाका लाभबाट बन्चित हुने निश्चित रहेको उनले बताए ।
कार्यक्रममा हेटाैंडा १ अमर माविकी प्रधानध्यापक मालाती उप्रेतीले इन्टरनेटको माध्यमबाट शिक्षा प्रदान गर्ने भन्दा कसरी दिने कोतुहलता लाग्ने गरेकोमा काेराेना माहामारीले गर्दा शैक्षिक क्षेत्रमा आइटीको प्रयाेगले फरक पारेको बताइन् । इन्टरनेटको माध्यमबाट शैक्षिक गतिविधि सुचारु गर्न पाउनु पनि एक अवसर भएको उनले बताइन् । ‘कोरोनासँगै वैकल्पिक शिकाइकाे रूपमा अनलाइन कक्षाहरूको सञ्चालनलाई सकारात्मक प्रभाव मान्नुपर्ने हुन्छ’ उप्रेतीले भनिन् ‘अनलाइन शिक्षाका सीमितता छ, व्यवस्थापन गाह्रो छ, व्यवस्थापन भए पनि विद्यार्थी कक्षामा उपस्थित भएर अध्ययन गरेजस्तो यो प्रभावकारी हुँदैन ।
अनलाइन कक्षामा विद्यार्थीको उपस्थिति न्युन हुने गरेकाेले काेराेना माहामारीले शिक्षाको गुणस्तरमा प्रश्न उठाएकाे छ उनले भनिन् । उनले आजको पुस्तामा माहामारीले गर्दा पढाईप्रतिको आकर्षण कम भएको देखिने बताइन् । विद्यार्थीसंग मोवाइल फोन नहुने, इन्टरनेटको समस्या रहेको र विद्युतको सहजताले अनलाइन शिक्षा प्रदान गर्न कठिन रहेको उप्रेतीकाे भनाइ रहेका छ । ।
कार्यक्रममा जनता मावि फापरवारीका सहायक प्रधानध्यापक शंकर पराजुलीले कोरोना संक्रमण तत्काल हट्ने नदेखिएकाले अव नेपालको शिक्षा प्रणालिमा भौतिक रुपमा उपस्थित रहेर शिक्षा लिन लामो समय लाग्ने निश्चित भएकाे बताए । विद्यार्थीका अभिभावकले समेत आफ्नो बच्चाको लागि शिक्षामा लगानी गर्ने बेला भएको उनले बताए । उनले भने, ‘यस परिस्थितिमा हाम्रो जस्तो अल्पविकसित देशमा यो कोरोनामय समयमा र कोरोनापछिको समयमा शिक्षाको स्वरूप कस्तो हुन सक्छ भन्ने विषयमा गम्भीर बहस र व्यवस्थापनको जरुरी छ । विषम परिस्थितिमा अबको शिक्षालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने चुनौती शिक्षामा सरोकार राख्ने सबैलाई भएको छ भने अर्कोतर्फ कोरोना आतङ्कले उत्तिकै रूपमा सम्भावनाकाद्वारहरू पनि खोलेको छ ।’ पराजुलीले भने ।

त्यस्तै बंशगोपाल मावि मकवानपुरगढीका प्रधानध्यापक लिलानाथ ढुङ्गेलले अहिले विद्यार्थीहरुमा पढ्दै नपढि पास भइने भनेर रमाइरहेको अवस्थामा हाम्रो शैक्षिक गुणस्तर कस्तो रहेको छ प्रश्न गर्न सकिने उनले बताए । आर्थिक स्थिति कमजोर रहेको साथै प्रविधि मैत्री हुन नसक्नु अहिलेको समस्या रहेको उनले बताएका हुन् । बाल जागृति इङलिस माविका प्रधानध्यापक विनोद सुवेदीले कोरोनाका कारण निकासाका कुरा भन्दा आशालाई हेर्न पर्ने बताए । उनले भने, ‘आज कोरोनाले हाम्रा विद्यालयलाई भर्चुअल कक्षाहरूमा जानै पर्ने पाठ सिकाएको छ । अब सरकार र विद्यालयहरूले प्रविधिलाई नकार्न नसक्ने भएका छन् । प्रभावकारिता कतिको भएको छ, त्यो बेग्लै कुरा भयो तर यस्ता कक्षाहरू सुरुवात गरिदिने कोरोन भाइरसले शिक्षामा नयाँ आयाम थपिदिएको मान्नुपर्ने हुन्छ ।’ आज शिक्षकहरू, विद्यार्थीहरू, अभिभावकहरू प्रविधिमैत्री भइरहेका छन् । अघिल्लो वर्ष भन्दा यो वर्ष केहि सहज भएको उनले बताए ।
हेटौंडा क्याम्पसका क्याम्पस प्रमुख डाक्टर देवचन्द्र मानन्धरले अवको समय कोरोना महामारीले शिक्षाको सिकाइ पद्धति मूल्याङ्कनलगायत सम्पूर्ण आयाममै आमूल परिवर्तन गरिदिएर हाम्रो शिक्षालाई नयाँ उचाइमा पुर्याउने सम्भावना पनि त्यतिकै रहेको बताए । कोरोना निर्मूल भएर हामी पहिलेकै अवस्थामा फर्किने सम्भावना कम देखिन्छ बरु हामीले हाम्रा बानी व्यवहारहरू, नीति, नियमहरू कोरोना सापेक्ष बनाउनु जरुरी देखिन्छ । जसले गर्दा सल्लाह सुझाबका लागि अन्तरक्रिया कार्यक्रम राखिएको बताए । हेटौंडा क्याम्पसले लगातार अनलाइनबाट विद्यार्थीलाई माहामारीको समयमा समेत शिक्षा प्रदान गर्दै आइरहेको बताए । उनले अव हेटौंडा क्याम्पस प्राविधिक र बहुमुखी भएको समेत जानकारी दिए । हेटौंडा क्याम्पसमा आर्थिक स्थिति कमजोर भएकै कारण शिक्षा लिनबाट बन्चित हुन नपर्ने उनले बताए । क्याम्पसले गरिव जेहेन्दार विद्यार्थीलाई छात्रबृद्धि प्रदान गर्ने गरेको समेत बताए ।