मकवानपुर । मकवानपुरगढीकाे ज्यामिरेखोला पक्की पुलको उद्घाटन् शनिबार गरिएकाे छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ ज्यामिरेखोलामा निर्माण गरिएको पक्की पुलको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका हुन् । पुल गाउँपालिका, संघीय सरकार र प्रदेश सरकारको ३ करोड ११ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको हाे ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले हाल सम्म प्रदेश सरकारले ६२ वटा पुल निर्माणको काम गरिसकेको बताए । ‘साढे तीन वर्ष अगाडी स्थापना भएको प्रदेश सरकारले चार सय किलोमिटर पक्की सडक निर्माण गरिसकेको छ । विकासका काम भनेको कहिले पनि ढुङ्गीदैन । ठुला मुलुकमा पनि विकासको काम सकिएको छैन’ पाैडेलले भने ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले पुल निर्माण पछी यस क्षेत्रका स्थानीय बासिन्दालाई सहज हुने बताए । कार्यक्रममा जिल्ला विकास समिति मकवानपुरका पूर्व उपसभापति बद्री लंसाल, मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ का अध्यक्ष जितबहादुर घिमिरे, वडा नम्बर–६ का अध्यक्ष टिका दाहाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
ज्यामिरेको पक्की पुल संघिय सरकारबाट ८९ लाख ६४ हजार ३१९, प्रदेश सरकारबाट ३० लाख अनुदान र गाउँपालिकाको आन्तरीक श्रोतबाट २ करोड १८ हजार १६९ गरी कुल ३ करोड १९ लाख ८२ हजार ४ सय ८८ रुपैँया लागतमा निर्माण भएको गाउँपालिकाका अध्यक्ष हुँमागाईले जानकारी दिए । पुलको लम्बाइ २६.६५ मिटर र चौडाइ ७.२० मिटर छ ।
पुल निर्माणपछि गाउँपालिकाका वडा नं. ५ र ६ का बासिन्दा बढी लाभान्वित हुने भएका छन् । पुल नहुँदा वर्षायाम स्थानीयवासी ज्यामिरे खोला जाेखिम माेलेर वारपार गर्ने गर्दथे । उक्त क्षेत्रमा बर्षाकाे समयमा ज्यामिरेखाेलाले जन धनकाे समेत क्षती पुर्याउँदै अाएकाे थियाे । पुल निर्माण भएसँगै स्थानीयबासीलाई खाेला वारपार गर्न जाेखिम कम भइ सहज हुने भएको छ ।