मकवानपुर। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक वर्षलाई खानेपानी चुहावट नियन्त्रणको वर्षको रुपमा मनाउने भएको छ ।
बोर्डले शुक्रबार पत्रकार सम्मेलन गर्दै पानीको माग र आपुर्तिलाई सहज सम्बोधन गर्नको लागि चुहावट नियन्त्रणको कार्य पनि अनिवार्य भएकोले आगामी आर्थिक वर्षमा चुहावटलाई सुन्यमा झार्ने योजना बनाएको बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले बताए । बोर्डले हेटौंडा उपमहानगरपालिका क्षेत्रमा दैनिक १ करोड ५५ लाख लिटर पानी वितरण गर्दै आएको हो ।
आर्थिक वर्ष २०७७–०७८ को प्रगति विवरण तथा २०७८–०७९ को नीति कार्यक्रम तथा बजेट कार्यक्रम प्रस्तुत गर्दै बोर्डका निमित्त कार्यकारी निर्देशक ढकालले यस्तो याेजना सुनाएका हुन् ।हेटौंडा क्षेत्रमा रहेको १ लाख ३५ हजार जनताको लागि दैनिक ६ देखि ७ घण्टासम्म पानी वितरण गरिएको ढकालले बताए ।

पानीको आपुर्ति बढाउनको लागि रिचार्ज पोखरी निर्माणको योजना अगाडि सारेको भए पनि कोरोना महामारीको कारण काम हुन नसकेको बोर्डका अध्यक्ष प्रताप विष्टले बताए । “रिचार्ज पोखरी निर्माणको लागि उपर्युक्त समय फागुन चैत र बैशाख हो, तर यही समयमा कोरोना महामारी फैलिएको कारण योजना अनुसारको काम हुन सकेन” अध्यक्ष विष्टले भने “यो वर्ष जस्तो सुकै अवस्था आएपनि रिचार्ज पोखरी निमार्ण गरिने छ ।” हेटाैंडाकाे वडा न ७ र ८ काे चुरेक्षेत्रमा रिचार्ज पाेखरी निर्माण गर्ने याेजना रहेकाे विषटले बताए ।
बोडले हेटौंडा क्षेत्रको लागि भीमफेदी गाउँपालिकाको बुङ्दलबाट सतहगत पनि र नगरक्षेत्र भित्र २१ वटा डिप बोरिङ गरी पानी वितरण गर्दै आएको छ । गत आर्थिक वर्षमा बोर्डले ९ करोड १८ लाख ७२ लाख २ सय ३८ रुपैयाँ महशुलबाट सङ्कलन गरिएको बोर्डले जनाएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले नगरवासीको लागि पानीको माग पुरा गर्न आफूहरुले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको बताए । नगरको विकट क्षेत्रमा खानेपानीको अझै पनि समस्या भएकोले चालु आर्थिक वर्षमा यस्ता क्षेत्रहरुमा पानी विस्तार गर्ने योजनामा नगरपालिकाले बोर्डसँग समन्वय गर्ने उनले बताए ।