मकवानपुर । लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा कूल प्रसाद केसी नियुक्त भएका छन् । विहीबार प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा केसीको मात्रै दावी परेको थियो । संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुख सामु पेश भएको दाबी अनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन् ।
मुख्यमन्त्रीमा कूल प्रसाद केसीले पद तथा गोपनियताको सपथ लिएसँगै मन्त्रीमण्डन विस्तार गरेका छन् । मुख्यमन्त्री केसीले विहीबार कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूलाई समावेश ७ सदस्यी मन्त्रिमण्डल विस्तार गरेका छन् । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टीका ६ जना मन्त्री बनेका हुन । जनता समाजवादी पार्टी (जसपा) का ३ जना सांसद मध्ये ३ जना नैं मन्त्री बनेका छन् ।
नेपाली काँग्रेसका डिल्ली बहादुर चौधरी ग्रामीण तथा शहरी विकास मन्त्री, नेकपा माओवादी केन्द्रका कृष्ण ध्वज खड्का आर्थिक मामिला तथा योजना मन्त्री र जनता समाजवादी पार्टीका सहसराम यादव भौतिक विकास तथा पूर्वाधार मन्त्री भएका छन् । यस्तै जनता समाजवादीका पुर्मती ढेगा, सुमन शर्मा रायमाझी र स्वतन्त्रबाट अजय शाही विना विभागीय मन्त्रीका रुपमा सपथ लिएका छन् । शाही सूर्य चुनाव चिन्हबाट चुनाव लडेका थिए ।
रायमाझी शंकर पोखरेल नेतृत्वको सरकारमा बिना बिभागीय मन्त्री थिइन । गठबन्धनले १० सदस्यीय मन्त्रीमण्डल बनाउने सहमति गरेको छ । बाँकी मन्त्री केही समय पछि बनाउने गठबन्धनको तयारी छ ।
केसीको मुख्यमन्त्रीसम्मको यात्रा यस्ताे छ
१० माघ, २०२७ मा जन्मिएका केसी विद्यार्थी संगठन हुँदै राजनीतिमा होमिएका हुन्। उनी २०४७ मा प्राथमिक तहको स्थायी शिक्षक बनेका थिए। २०४९ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला रोल्पा सदरमुकाम लिबाङ पुगेका बेला कालो झण्डा देखाएपछि जागिर गुमेको थियो।
जागिर गुमेसँगै केसीलाई सार्वजनिक मुद्दा लगाइएकाे । मुद्दा लागेसँगै २०५० मा केसी अर्धभूमिगत बने। १ फागुन, २०५२ मा माओवादीले सशस्त्र विद्रोहको घोषणा गरेसँगै उनी पनि भूमिगत बने। होलेरी प्रहरी चौकी आक्रमणमा उनी पनि संलग्न थिए। उनले भूमिगत अवस्थामै ताराकुमारी घर्तीसँग जनवादी विवाह गरे। २०६४ को संविधान सभामा उनकी पत्नी घर्ती समानुपातिक सभासद भएकी थिइन्।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केसी २०७४ को प्रदेश सभा निर्वाचनमा रोल्पा १ ‘क’ बाट निर्वाचित भएका हुन्। उनले १८ हजार ५१२ मत पाएका थिए भने निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर महराले १० हजार ४०१ मत पाएका थिए।
केसीले साढे दुई वर्ष जेलजीवन पनि बिताएका छन्। उनले प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन्। दोस्रो संविधान सभाको निर्वाचनताका एकीकृत नेकपा (माओवादी) बाट मोहन वैद्य समूह अलग भयो। उनी पनि वैद्यतिरै लागेका थिए। पछि वैद्यलाई छाडेर रामबहादुर थापाको समूह माओवादीमै फर्कियो।
यसअघि उनी लुम्बिनीको आन्तरिक मामिला ताथ कानूनीमन्त्री बनेका थिए। एमाले र माओवादी ब्युँतिएसँगै निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारबाट माओवादीले बाहिरिने निर्णय गरेसँगै उनीसहित सामाजिक विकासमन्त्री सुदर्शन बरालले गत ६ वैशाखमा राजीनामा दिएका थिए। आन्तरिक मामिलामन्त्रीबाट राजीनामा दिएको चार महीना नबित्दै उनी लुम्बिनीकाे मुख्यमन्त्री बनेका छन्।