मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा कोरोनाविरुद्धको खोप लगाउनका लागि अनलाईन दर्ता अभियान संचालन भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत काेराेना खोप लगाउन अनलाईन दर्ताका लागि महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालको सहजिकरणमा हेटौंडा उपमहानगरपालिकामा अभियान संचालन गरेको हो ।
मन्त्रालयले विश्व स्वास्थ्य संगठन र युएनडिपिको आर्थिक एवं प्राविधिक सहयोगमा ७ प्रदेशका ७ स्थानीय तहमा पाइलट प्रोजेक्टको रुपमा अनलाईन दर्ता अभियान संचालन गरेको हाे । बागमती प्रदेशको हेटौंडा उपमहानगरपालिका सहित प्रदेश १ को बिराटनगर महामहानगरपालिका, प्रदेश २ को कलैया उपमहानगरपालिका, गण्डकी प्रदेशको बेनी नगरपालिका, लुम्बिनी प्रदेशको बुटबल उपमहानगरपालिका, कर्णाली प्रदेशको गुराँस गाउँपालिका र सुदरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकामा सहजकर्ताहरु नै खटाएर अनलाईन दर्ता अभियान संचालन भईरहेको छ ।
७ सय ५३ वटै स्थानीय तहमा अभियान संचालन गर्ने र तथ्यांक व्यवस्थापनको उद्देश्यले ७ स्थानीय तहमा पाइलट प्रोजेक्ट संचालन गरिएको बताइएकाे छ । अनलाईन दर्तामा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालकी अध्यक्ष इन्दिरा न्यौपानेले बताईन् ।
अनलाईन दर्ता गर्दा खोप केन्द्रमा हुने भिडभाड समेत कम भएको सर्वसाधारणको भनाई छ । सहजकर्ताहरु नै परिचालन गरेरअग्रिम अनलाईन दर्ता गरी स्वास्थ्य केन्द्रमा खोप लगाउँदा लाईन बस्नु नपर्ने भएकाले सहज ढंगले खोप लगाउन सकिने भएकाे छ ।
अभियानले खोपको दुरुपयोग रोक्ने, बैदेशिक रोजगारी जानेहरुका लागि अध्यागमनमा परेको समस्यालाई सहजिकरण गर्ने, स्वास्थ्य संस्थामा चाप व्यवस्थापन हुने, खोपको राष्ट्रिय तथ्यांकमा दुरुस्तता आउने जस्ता सकारात्मक परिणाम आउने विश्वास लिइएकाे छ ।