- इन्दिरा राई
आमासँगको रात
धेरै समयपछि
आज म मेरी आमासँग थिएँ
आजै हो मैले आमालाई छ्यांगै देखेको
आमा बाख्राको घाँस काट्नुहुदै रे
म गुन्द्री ओछ्याएर
आमाका लागि बिस्तरा मिलाउँदै रे
कसो, आमा त लड्नु भएछ क्यार
कान्छी कान्छी आमाले
हारगुहार माग्नु भयो ।
तर म आमा छेउ पुग्दै पुगिनँ
मेरी आमा अभरमा पर्नुभयो
म दौडेर किन पुगिनँ ।
म त ब्युँझिएछु पो त
किन ब्युँझिए म ? नब्युँझिनु पर्थ्यो मैले
हो, बिपत्तिमा पर्दा मेरी आमा
म उनीसम्म पुग्नै सकिनँ
छिस् कत्ति चित्त नबुझाई छ ।
आफैँप्रति कत्ति खेद छ मभित्र
रातको तेश्रो पहर हुँदो हो,
माडिएँ म ओछ्यानमै,
पछारिएँ, थचारिएँ, चिच्याएँ
राता र ताता भएछन् रगडिएर
कुर्कुच्चा, र बुढिऔँठाहरु
पाएँ निथ्रुक्कै एकछेउ सिरानी
झलमल्ल भो बिहानी
तर, उघ्रिए पो नयनहरु
डम्म छन्प रेलीका ढकनीहरु ।
चीया पिउनु भो मामु छोरी हुनुपर्छ,
फोन बजिरहयो
सायद, म तन्द्रा मै थिएछु क्यार
अचानक झस्किएँ ।
मैले म ब्युँझिनुको अर्थ पाएँ
र फेरी उसैगरी भक्कानिएँ
आखिर, म पनि त आमा हुँ
हो, आज मैले आमाहरु आँसु लुकाएर,
कति सपनाहरु बिर्सिएर
मुस्कुराउनुको अर्थ पाएँ ।
२५ श्रावण, २०७८