मौनताका हरफहरु कोर्दै
पन्नाहरु संगाल्दै गरेको यो जीन्दगी भित्र
तिमी आफ्नो आवाज छपाउन खोज्छौ
भन किन निम्त्याउँ म त्यो कोलाहल
अनि अनिश्चित जिन्दगीको
अनिश्चित समय भित्र तिमी आफ्नो
निश्चितता सुनिश्चित गर भन्छौ
भन कहाँबाट ल्याउँ म त्यो निश्चितता?
उधारो जिन्दगीको यो पल पल को खटन भित्र
तिमि आफ्नो एकाधिकार जमाउँन खोज्छौ
भन कहाँबाट दिउँ म त्यो अधिकार
अनि असंभावनाका अनगिन्ती सम्भावना भित्र
तिमी आफ्नो सम्भावितता जताउन खोज्छौ
भन कहाँबाट देखाउँ म त्यो सम्भाव्यतता ?
ठोकिदै हुत्तिदै ,घिस्रिदै खाटा बनेका पलहरु भित्र
तिमी आफ्नो सहजताको झन्डा फहराउन खोज्छौ
भन कहाँबाट दिउँ म त्यो सहजतता
अनि काल्पनिक यथार्थहरुलाई समाई
यथार्थको परिभाषा बटार्न खोज्छौ
भन किन स्वीकाँरू
म तिम्रो काल्पनिक यथार्थता ?
भन किन स्वीकाँरू म यथार्थता ?
हर्नामाडी, मकवानपुर हाल काठमाडाैं