झिनो आशातीत हृदयतलमा
अमिलो मन धमिलो तलाउमा
अनुत्तरित प्रश्न सल्बलाइरहेछ
लोचन उसै फर्फराइरहेछ।
जननीको खुम्चिएका ललाटमा
कुमदिनी झैँ प्रियसीको वदनमा
मन्द मन्द मुस्कुराइरहेको छ
लोचन उसै फर्फराइरहेछ।
मातृभूमिको मट्टी लेप्पन गर्दै
मीठो कल्पनामा चुर्लुम्म डुबुल्किदै ,
सात समुन्द्र पार गरिरहेछ
लोचन उसै फर्फराइरहेछ।
माता पिताको तुन्दै गरेका वस्त्र
प्रियाको हार लगाउने स्वप्न चित्र
मानसपटलमा झल्किरहेछ
लोचन उसै फर्फराइरहेछ ।
घरखेत बन्दगी राखेर यस्तै
ऋण मोचन निम्ति बढेका पथ
पर भूमिमा खून बगाइरहेछ।
लोचन उसै फर्फराइरहेछ।
नीर गगनको शशि नियाल्दै
उच्च गिरिमा कद कुदिरहेको बेला
तिनै गाउँवेशीको यादमा तड्पिरहेछ
लोचन उसै फर्फराइरहेछ ।
बिदाइको क्षणका अश्रुधारा समेल्दै
आफन्तको बिछोडमा चिस्सिएको मन
प्रत्येक स्पन्दनमा धड्किरहेछ
लोचन उसै फर्फराइरहेछ ।
पल्लोघरे साइलाको रातो बाकस
फेरि दृश्य झल्काइरहेछ
काँचको टुक्राझैँ झर्याम झुरुम
डर त्रासले कता कता झस्काइरहेछ
लोचन उसै फर्फराइरहेछ ।