मणि र बुध्दिसागार दुवै नेपाल सरकारका उच्च पदस्थ कर्मचारी। भरखरै दुवैले सरकारी कोटामा एकसाथ बिदेश भ्रमण गर्ने अबसर पाए। ठूलो प्लेन चढे। हवाई यात्रा गर्दै डाँडाकाँडा,खोलानाला तथा समुद्री दृष्यको रसपान गरे।
सुन्दरी बिमान परिचारिकाले दिएको मीठा,स्वादिला परिकार खाँदै बिदेशी एअरपोर्टमा झरे। सफा,सुन्दर र भब्य एयरपोट देखेर यस्तो संवाद गर्न थाले,”त्रिभूवन विमानस्थललाई कहिले यस्तो बनाउँने होला है।” “त्यही त प्राकृतिक सुन्दरताले भरिपूर्ण भएर पनि मानवनिर्मित फोहोरले कुरुप र प्रदुषित भएको छ हाम्रो राजधानी।” “यहाँ त जतासुकै फोहर फाल्न हुँदैन नि। जरिवाना खाईन्छ”
ट्रान्जिटमा बस्दा बिस्कुट र केक खाएर त्यसको खोल साबधानीपूर्वक डस्बिनमा हाले।”त्यही त बिचार पुर्याउँनु पर्छ।असभ्य भएर नेपालीको बेईज्जत गर्न हुँदैन नि। सरकारले यत्रो खर्च गरेर हामीलाई यहाँ पठाएको। केही सिकेर आफ्नो देशमा गई लागु गर्नु पर्छ।” “अब हामी गएर जनचेतना जगाउँनु पर्छ । सफाई अभियान चलाउनु पर्छ।
स्थानीय सरकार मार्फत दण्ड र पुरस्कारको प्राबधान लागु गराउँनु पर्छ।” “हो गर्नु पर्छ।हामीले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने? त्यति सानो केपी खनाल भाईले त कति गरिसक्यो हामी पनि लाग्नु पर्छ” “आफू आफूमा सबै सचेत बनेर फोहोर ब्यबस्थापन गरे त फोहोर नै हुदैनथ्यो नि” यस्तै यस्तै बिचार र सम्बाद साट्दै जोस जाँगरका साथ पन्ध्रदिने अबलोकन भ्रमण सके। स्वदेश फर्किए।जब प्लेनबाट झरे र गाडीमा चढ्न लागे।मणिले पिच्च थुक्यो।दुईचारवटा चकलेटका खोल खल्तिमा रहेछन्, वुध्दिसागरले ह्वार्र फ्याँकिदियो।
सभापोखरी १ संखुवासभा