बारी मल्न बस्तुभाउ बेंसीको गोठमा सारेकाले ठूलो भाइ र ठूली दिदी बेंसीको घरमा बस्थे भने भाईबैनी आमासगै माथी गाउँको घरमा बस्थे ।भाइ उतैबाट स्कूल जाने आउने गर्थ्यो, दिदी गाई बस्तुको धन्दा गर्थिन्।
एकदुई दिनमा आमा उनीहरुलाई चाहिने सामल तुमल बोकेर भेट्न आउने गर्थिन्।सधै झै साँझको खाना खाईसकेर भाइ भित्रै किताब पढ्दै थियो। दिदी बाहिर जुठेल्नामा जुठाभाँडा माझ्दै थिईन्।जुनको उज्यालोमा उनले अलिपर एउटा अनौठो आकृति देखिन्। ध्यान दिएर हेर्न थालिन्। त्यो आकृति बढ्दै गयो।हातखुट्टा लामा लामा हुँदै गएको उनले देखिन्। के हो भनी ठम्याउने कोशिस गर्दै थिईन् झन् छिटो छिटो आकृति परिवर्तन भएको देखिन्।
उनको मनमा चिसो पस्यो, उनले सुनेकी थिईन् भुत प्रेत देख्यो भने पछाडि फर्किन हुन्न। उनी पछाडि सर्दै सर्दै त्यो आकृतिबाट आँखा नहटई विस्तारै ढोका निर पुगिन् र ढक ढक गरेर ईसाराले भाईलाई बोलाईन्। भाई बाहिर आयो। बिस्तारै खस्याकखुसुक गर्दै भाईलाई त्यो आकृति तिर देखाईन्।
“पख है दिदी तिमि यही बस !” दिदीको हात खुस्काउँदै भाई अघि बढ्यो।छेउमा भएको निकै ठूलो ढुंगो दुई हातले उचाल्यो र अलि नजिक गएर जोडले हान्यो।”टंरङ” आवाज आयो।”ला मैले विहान ठेकी माझेर घाममा सुकाएकी थिएँ!” दुई टुक्रा भएको ठेकी हेर्दै दिदी आत्तिन्।
सुन्दरहरैचा, मोरङ