मकवानपुर / कोरोना भाइरसको दोस्रो लहरपछि मकवानपुरमा हाल करिब ९० प्रतिशत उद्योगहरु मात्रै संचालनमा आएका छन् तर ति ९० प्रतिशत उद्योगहरु पनि पूर्ण क्षमतामा भने संचालित छैनन् ।
साबिकको सामान्य अवस्थाको औसत करीब ७० प्रतिशत उत्पादन क्षमतामा मात्र संचालित छन् ।
कोरोना महामारीको कारण थिलोथिलो भएको औद्योगिक क्षेत्र विस्तारै बाँमे सर्ने अवस्था आएका छन्। कोभिडको पहिलो लहरमा नेपाल सरकारले नै अनिवार्य रुपमा औद्योगिक क्षेत्र बन्दको घोषणा ग-यो, सामान्य अवस्था आएको भन्दा सञ्चालन सुरु गरिएका उद्योगहरु ६ महिना पनि चल्न नपाई दोस्रो लहर सुरु भयो । उठ्न खोजेको अर्थतन्त्र फेरी ढल्यो ।
यो बिचमा उद्योगहरु बन्दको कारण झण्डै ३ अर्ब राजस्व नोक्सानी भएको छ । महामारीको कारण सरकारी राजस्वमा समेत हानि भएको हो । सामान्य अवस्थामा हेटौंडा औद्योगिक क्षेत्रको उद्योगहरुले बुझाउने सबै प्रकारको राजस्वमा झण्डै बार्षिक १० अर्ब हुने गरेकोमा गत आर्थिक वर्ष २०७६/ ०७७ मा करिब ३० प्रतिशतले कमी आएको छ । सबारे वास्तविक तथ्यांक प्राप्त नभैसकेकोले अझै बढी पनि हुन सक्ने अनुमान औद्योगिक क्षेत्र व्यवस्थापनको छ ।
यो महामारीको असर असर दीर्घकालीन पर्छ निषेधाज्ञा खुल्ने बित्तिकै पनि सामान्य अवस्थामा फर्किन नसक्ने औद्योगिक क्षेत्र व्यवस्थापनका प्रमुख राजेन्द्र कंडेलको बिश्लेषण छ । उद्योगको उत्पादनको खपत हुने मुख्य बजारमाबाट मागको सृजना नभएको कारण उत्पादन भण्डारण गरेर राख्दा लागत मात्रै खेर जान सक्ने अवस्था भएको औद्योगिक क्षेत्र व्यवस्थापन प्रमुख कंडेलले बताए।
“हालको मुख्य समस्या भनेको बजारको मागमा वृद्धि नहुनु हो” कंडेलले भने “उद्योगहरुले उत्पादन गरेको केही प्रतिशत पनि सहज खपत छैन र अति उत्पादन गरेर पनि भण्डारणको समस्या भएको छ ।” उद्योगहरु बन्द रहेको, तथा उत्पादनमा कटौती गर्नुपरेको कारण आर्थिक रुपमा समेत हानी भएको उनले बताए । त्यसैगरी वार्षिक कुल उत्पादन करीब ३० देखि ४० अर्ब हुने गरेकोमा विषम परिस्थितीको कारण ४० प्रतिशत बराबरको उत्पादनमा घाटा भएको हुन सक्छ अनुमान गरिएको छ।
पछिल्लो २ सातादेखि निषेधाज्ञा खुकुलो गरिएसँगै बजारको माग बिस्तारै वृद्धि भएकोले उद्योगहरुको क्षमता वृद्धि गर्दै उत्पादन बढाउन थालिएको छ । तर तेस्रो लहरले पु-याउने नोक्सानी प्रति पनि व्यवसायीहरु सशंकित भएको प्रमुख कंडेलले बताए ।
सुरक्षा व्यवस्था
सञ्चालनमा रहेका उद्योगहरुले मजदुरहरुलाई स्वास्थ्यको पुर्ण मापदण्ड पालना गर्न अनिवार्य
गरिएको छ । मजदुरलाई घरबाट उद्योग आउने जाने क्रममा कोरोना संक्रमण हुने संभाव्यतालाई मध्ये नजगर गरेर उनीहरुलाई उद्योगमै बस्ने व्यवस्था गरिएको छ । जिल्ला प्रशासनको नेतृत्वमा सम्बन्धित निकायहरुले समय समयमा उद्योगको अनुगमन हुने गरेको उपभोक्त हित संरक्षण मञ्चका बासुदेब खतिवडाले बताए ।
उद्योग संघको सक्रियतामा पनि सम्पुर्ण उद्योग मजदुर र कर्मचारीको एण्टिजेन परिक्षण गर्दा न्यून संख्यामा मात्रै संक्रमण भएको पाइएको थियो । “ एण्टिजेन परीक्षणको नतिजाले उद्योग भित्र मापदण्ड राम्रोसँग पालना भएको देखियो” कंडेलले भने । यसैगरी बुधबारबाट उद्योगमा कार्यरत मजदुर र कर्मचारीलाई खोप लगाउने अभियान शुरु गरिएको छ । दुई दिन अघि करीब १ हजार खोप लगाइएको र बुधबारबाट सुरु गरिएको खोप कार्यक्रमबाट करीब ४ हजार खोप लगाइने कार्यक्रम जारी रहेकोे उद्योग संघ मकवानपुरका अध्यक्ष लेख राज पोख्रेलले बताए ।

कोभिडको कारण मजदुरहरुलाई आवासीय सुविधा दिएर उद्योगहरुले स्वास्थ्य सुरक्षा प्रवन्धलाई भरपर्दाे बनाउन खोजेको महाशक्ति सोप एण्ड केमिकल्स प्रा.लिका मजदुर अर्जुन चौलागाईले बताए । “महामारीमा उद्योगमा नै बस्ने व्यवस्था गरिएको छ” चौलागाईले भने । यो समयमा अतिरीक्त समय पनि काम र भक्ताको पनि व्यवस्था उद्योगले गरेको उनले बताए।
हेटौंडा औद्योगिक क्षेत्रमा १ सय ३३ वटा उद्योग रहेकोमा कोभिडपछि पूर्ण र आंशिक गरी हाल १ सयवटा उद्योगहरु सञ्चालनमा छन् । अन्य उद्योग पूर्ण रुपमा बन्द छन् । काठ फर्निचरजन्य, प्लास्टिकका सामान बनाउने, निर्माण सामग्री तथा वर्क सप, मासु प्रशोधनलगायतका उद्योग पुर्ण रुपमा बन्द छन् । अत्यावश्यकीय वस्तुहरु जस्तै मैदा बिस्कुट पफ म्याक्रोनीलगायतका खाद्य बस्तु, दुग्ध तथा पेय पदार्थ, पानी, साबुन सर्फ, इन्धन आपूर्ति जस्ता उद्योगहरुलाई भने नियमितरूपमा संचालित छन्।