मकवानपुर / कोरोना भाइरसको महामारीपछि गत पाँच महिनादेखि विद्यालयहरु बन्द छन् । २०७२ सालको भुकम्पले भत्केका विद्यालय भवनहरु निर्माणको अन्तिम चरणमा पुगेपछि कोरोना महामारीको सन्त्रासले विद्यालयहरु बन्द भए ।
महामारीको कारण पठनपाठन बन्द भएपनि पुनर्निर्माणको कार्य निरन्तर चल्यो । बैशाखबाट नयाँ विद्यालय भवनमा पठानपाठन सुरु गर्न तयारीको रफ्तामा बनिरहेका विद्यालय भवनहरु अहिले रङरोगन समेत सकिएका छन् । तर माहामारीको कारण विद्यालयहमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने वातावरण अझै नबन्दा विद्यार्थीको चहलपहल बिना विद्यालय भवनहरुले थप शोभा गुमाइरहेका छन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका कार्यालय प्रमुख बद्री पाठक भन्छन् “भूकम्पले चर्केका,ढलेका विद्यालयहरु धमाधम निर्माण हुँदै छन्, धेरै त पठनपाठनको लागि तयारी छन्, शैक्षिक क्षेत्रको भौतिक संरचनामा कायापलट भएको छ ।”
भुकम्पको कारण मकवानपुरमा ५ सय १६ विद्यालय मध्ये ४ सय ९ विद्यालयका दुई हजार ३ सय १० वटा कक्षाकोठालाई भूकम्पले पूर्ण क्षति पु-याएको थियो । क्षति पुगेका कक्षा कोठाहरुको तीन वर्षदेखि पुनर्निर्माण कार्य जारी राखिएको उनले बताए । पाठकका अनुसार विद्यालय भवनहरु ३ वटा मोडालिटीमा पुनर्निर्माणको कार्य अगाडि थियो ।

पहिलो मोडालिटी अनुसार विद्यालय व्यवस्थापन समिति मार्फत सम्झौता भई निर्माण हुने कूल विद्यालय जम्मा ३ सय २१ भवनको १ हजार २६ वटा कक्षाकोठाहरु १ सय ४९ शौचालय तथा ८४ विद्यालय खानेपानी कार्यक्रम रहेका थिए । जसमा आर्थिक वर्ष २०७३/०७४ मा ६८ विद्यालय भवनका २ सय २० कक्षाकोठा, २०७४/०७५ मा ६८ विद्यालय भवनका २ सय २० कक्षाकोठा निर्माण भएका थिए । यसैगरी आर्थिक वर्ष २०७५/०७६ (प्रथम) मा ६५ विद्यालय भवनका २ सय कक्षाकोठा, आ.व.२०७५/०७६ (दोश्रो) मा ५१ विद्यालय भवनका, १ सय ५३ कक्षा कोठा तथा ७० शौचालय निर्माण भएको पाठकले जानकारी दिए ।
यस्तै २०७६/०७७ मा ६१ विद्यालय भवनका २ सय ५ कक्षाकोठा, ७९ शौचालय र ८४ खानेपानी व्यवस्थापन कार्यक्रम प्राप्त भएको र उक्त कार्यक्रम आव २०७७/७८ मा निर्माण भएको उनले बताए । यस्तै आव २०७७/७८ को लागि ८ विद्यालय भवनको २८ कक्षाकोठा निर्माणका लागि कार्यक्रम थप भई आएको पाठकले बताएका छन् ।
दोस्रो मोर्टलिटी अनुसार ठेक्का प्रणालीबाट जापान सरकारको ऋण सहयोग (जाईका) र एशियाली विकास बैंक (एडिबि) को तर्फबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत ठेक्का सम्झौता भई सबै गरी कूल ५६ विद्यालयका ७ सय कक्षाकोठा निर्माण हुने क्रममा रहको छ। त्यस्तै गरि तेस्रो मोर्टालिटी अनुसार संघ संस्थाको तर्फबाट स्थायी प्रकृतिका जम्मा ३२ विद्यालयमा २ सय २१ कक्षाकोठा निर्माण भएको पाठकले जानकारी दिए।
राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका कार्यालय प्रमुख बद्री पाठकले भने “आव २०७७/७८ को असार मसान्तसम्म जिल्लामा तीनवटै मोडालिटीबाट कुल ४ सय ९ विद्यालय भवनका १ हजार ९ सय ४७ कक्षाकोठा निर्माण कार्य अगाडि बढेकोमा ३ सय ७५ विद्यालयका १ हजार ६ सय ६५ कक्षाकोठा निर्माण सम्पन्न भएका छन् ।
त्यस्तैगरी १ सय ४९ शौचालय र ८२ विद्यालयमा खानेपानी व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ भने सबै गरी ३४ विद्यालयका २ सय ८२ कक्षाकोठा निर्माणधीन रहेका छन् । हालै एसियाली विकास बैकको ऋण सहयोगमा थप ४ विद्यालय निर्माणका लागि टेण्डर प्रक्रियाको सूचना प्रकाशन भइसकेको छ ।
मकवानपुर जिल्लाका १ सय ३८ विद्यालयहरुमा जग्गा अभाव, न्यून विद्यार्थी, यातायातको पँहूच नपुगेको र आवश्यक्ता नभएका जस्ता कारण भौतिक निर्माण कार्यक्रम समावेश गर्न सकिएको अवस्था नभएको आयोजनाले जनाएको छ ।