सिक्किममा रहेर साहित्यकाे क्षेत्रमा क्रियाशील साहित्यकार गीताश्री शर्मा साहित्यसँग सम्बन्धित प्रकाशन गृह समेतमा आबद्ध छिन् । अमृतवाणी, विश्व प्रसिद्ध व्यक्तिहरूका महान् वाणीहरूको
सङ्कलन तथा स्कूस्ले पाठ्यपुस्तकहरू सम्पादन गरी प्रकाशन गरेका उनले हालै ‘मुक्ता’ मुक्तक संग्रह प्रकाशनमा ल्याएकी छिन् । काेराेना कहर बीच मुक्तालाई फरक ढंगले विमाेचन गरिएकाे छ । आफ्नी आमाकाे हातबाट मुक्ता विमाेचन गराइएकाे हाे । सिक्किमकाे लिङ्माे भारतमा वि.सं. २०३० फागुन १८ गते ( सन् १९७४ मार्च ६) जन्मनु भएकी शर्माकाे बास्तविक नाम गीता शर्मा उपाध्याय न्याैपाने हाे । लेखन, सम्पादन र प्रकाशन कार्यमा समेत संलग्न उनी सिक्किममा जनपक्ष प्रकाशन संचालन गरी रहेकी छिन् । स्कुल अध्ययनकाे समयमा प्रकाशित हुने म्यागेजिनमा फुटकर साहित्य लेखनमा लागेकी उनी विगत ४–५ बर्षदेखि पुनः निरन्तर कलम चलाउने गरेकी बताउँछिन् । उनकाे वर्षा – कवितासङ्ग्रह (प्रकाशोन्मुख) समयका रेखाहरू कथासङ्ग्रह (प्रकाशोन्मुख) रहेकाे छ । अहिलेकाे परिवेशमा रहेर नेपाली साहित्य सन्दर्भमा साहित्यकार गीताश्री शर्मासँग सहीखबरकाे लागि आरपी गुरागाँईंले गरेकाे कुराकानीको सम्पादित अंशः
साहित्य लेखनमा लाग्नु भएकाे कति भयो ?
स्कूल म्यागेजिनका निम्ति फुटकर रचनाहरू विद्यार्थी छँदैदेखि लेखियो । त्यसपछि घरेलु व्यस्तताले लेख्न भ्याइएन, लेखिएका पनि पत्रपत्रिकामा प्रकाशित गराउन सकिएन । विगत चार-पाँच वर्षदेखि पुनः केही लेख्न थालेकी छु।
मुक्तक बाहेक साहित्यकाे कुन विधामा कलम चलाउनुहुन्छ ?
मुक्तक बाहेक कविता, कथा, लघुकथा र भर्खरै सुसेली पनि लेख्न थालेकी छु। केही किताबहरूको सम्पादन पनि गरेर प्रकाशन गरेकी छु ।
आजका हाम्रा युवाहरू समाज, देश र भविष्यका कर्णधार हुन् । यिनीहरूलाई समयसापेक्ष बनाउने र युवाहरूलाई दिशा निर्देश गर्ने काम पनि साहित्यले गर्दछ यसैले ‘साहित्य समाजको दर्पण भनिन्छ, मेराे रचनाले पनि यस्तै काममा केही इट्टा थपेकाे छ भन्ने लाग्छ ।
साहित्य लेखनमा कस्काे प्रेरणाले लाग्नु भएकाे हाे ?
” जनपक्ष प्रकाशन” संस्थासँग आबद्ध छु । जसले स्थापित साहित्यकारका धेरै कृतिको प्रकाशनसँगै नवोदित कवि, कथाकार, उपन्यासकार तथा साहित्यकारहरूकाे समेत कृति प्रकाशन गरी स्थापित गराएकाे छ।
प्रकाशनका निम्ति आएका कतिपय पाण्डुलिपिका लेखाइ हेर्दा नै पढुँपढुँ लाग्ने हुन्छन् , कतिपय टाइपसेटिङ गरिरहेको समय चासो राखेर पनि पढ्ने अवसर पाएँ । विशेष गरेर पसलमा बिक्री वितरणका निम्ति राखिएका हजारौं लेखकहरूका कृतिहरू त पढेर सकिने होइन, त्यसमा पनि चुनिएका, गनिएका र धेरै नाम चलेका कृतिहरू साथै पारिजातका कथा, उपन्यास, अच्छा राई रसिक, रूपनारायण सिन्हा, शिवकुमार राईका कथा , उपन्यास , सानु लामा, भीम दाहाल , झमक घिमिरे, इन्द्रबहादुर राई,बीपी कोइराला, सुवास घिसिङ, प्रकाश कोविद आदि धेरै विद्वान् लेखकहरूका कृतिहरूबाट प्रभावित भएकी छु । मेरा आदरणीय जेठाजु श्री शिवराज शर्मा नै धुरन्धर विद्वान् लेखक हुनुहुन्थ्यो , घरमा आधारातदेखि उठेर लेखेको देख्दा जीवनमा केही बन्न र समाजमा केही छाडिराखेर जानलाई साहित्य महत्त्वपूर्ण विषय हो, पढ्नु पर्छ अनि केही लेखेर समाजलाई केही दिनुपर्छ भन्ने लागेको छ । उहाँहरूबाट धेरै प्रभावित भएकी थिएँ । मेरो त घरै साहित्यमय थियो र छ । मेरा श्रीमान पनि लेखक, अनुवादक तथा सफल सम्पादक हुनुहुन्छ । उहाँसँगको सामिप्य र जीवन जोडिनुमा पनि मेरो साहित्यमा प्रेरणाको स्रोत बनेको छ।
यी बाहेक पनि समय, परिस्थिति, गाउँ-बस्ती, शहर-बजार, छरछिमेक, परिवेश र घटनाहरूले मलाई प्रभाव पारेको छ, विशेष लेख्ने प्रेरणा मिलेको छ ।

साहित्य लेखन बाहेक अरु कुन पेशामा आवद्ध हुनुहुन्छ ? साहित्य लेखनमा समय कसरी मिलाउनु हुन्छ ?
आफू स्वयं प्रकाशनसँग आवद्ध छु। लगभग चार दशकदेखि निरन्तर चलिरहेको प्रकाशन हो, ” जनपक्ष प्रकाशन” । स्थापित तथा नवोदित लेखक, साहित्यकारहरूको कृतिहरू प्रकाशन, ग्राहकहरूको सुविधा र समयोचित बिक्रीवितरण हाम्रो मुख्य उद्देश्य हो । यस बाहेक पाहुनापात, पूजा-आजा, मरौपरौ, छरछिमेक, बिहे-बटुलो आदिबाट उब्रिएको समय म लेखनकलामा लगाउँछु , शायद यसैले भनेको होला ! ‘ जहाँ इच्छा त्यहाँ उपाय ।’
साहित्य समाजकाे ऐना भनिन्छ ! तपाइकाे साहित्य लेखनबाट समाजमा परेकाे प्रभावलाइ कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
साहित्यले समाज, गाउँ, शहर, बजारदेखि देशलाई सचेत गराउँछ , साहित्यले नै अन्योलमा परेका हाम्रा विद्यार्थी, युवा र पीछडिएको समाजलाई अग्रगति दिन्छ । आजका हाम्रा युवाहरू समाज, देश र भविष्यका कर्णधार हुन् । यिनीहरूलाई समयसापेक्ष बनाउने र युवाहरूलाई दिशा निर्देश गर्ने काम पनि साहित्यले गर्दछ यसैले ‘साहित्य समाजको दर्पण भनिन्छ, मेराे रचनाले पनि यस्तै काममा केही इट्टा थपेकाे छ भन्ने लाग्छ ।
साहित्य लेखनबाट के पाए भन्ने लाग्छ ?
समाजलाई मैले जानेको र गर्न सक्ने काम गरेर केही दिन सकें र पाठकहरूले पनि मैले गरेको काम र मैले सिर्जना गरेको वा लेखेको साहित्य पढेर सन्तोष व्यक्त गरिदिए, केही चर्चा- परिचर्चा गरिदिए भने मलाई आत्मसन्तुष्टि मिल्दछ, मैले पाउने भन्दा समाजकाे लागि दिनसक्ने कुरा दिउँ भन्ने साेच हाे, मेराे लेखाइबाट सन्तुष्टि पाएकाे छु । यही नै हाे ।
पछिल्लाे समय साहित्यका पाठक कतिका छन् जस्ताे लाग्छ ? नेपाली भाषी रहेकाे सिक्किम, दार्जीलिङ एवं गुवाहटी क्षेत्र साहित्य कलाकाे क्षेत्रमा उर्वर मानिन्छ त्यहाँ अहिले कतिकाे सक्रियता छ साहित्यमा ?
नेपाली साहित्यमा पाठक प्रशस्त छन् तर पाठकहरूले चाहेको , आशा गरेको अथवा रुचाएका कृतिहरूको रचना हुनुपर्दछ, कृति प्रकाशित हुनुपर्दछ वा सीधै भनौं भने लोककल्याणका निम्ति लेखिएको साहित्य हुनुपर्दछ । जसकाे अभाव संधै देखिन्छ । समाजमा नयाँ नयाँ पुस्ताहरू पनि थपिदै जाने र पुस्ता अनुसारकाे साहित्यकाे राेजाइ हुने भएकाेले साहित्यमा नयाँ विषय बस्तुकाे खाेजी र अभाव रहने हुन्छ ।
सिक्किम, दार्जीलिङ र डुवर्स नेपाली भाषा-भाषीहरूको बहुल क्षेत्र हो । आसाम क्षेत्रमा नेपालीहरू अल्पसङ्ख्यक छन् यी सबै क्षेत्रलाई जनसङ्ख्याको आधारमा हेर्दा नेपाली भाषा,साहित्य,कला र संस्कृतिले ठूलो फाँट जमाएको छ । नेपाली साहित्यिक गतिविधि तीव्र रूपले अघिबढिरहेको छ र भविष्य पनि उज्ज्वल छ भन्ने लाग्दछ ।
आजको साहित्य पाठक, विद्यार्थी, समाज र युगसापेक्ष होस् । विज्ञानमूलक लेखियोस् । साहित्यले समाजकाे मर्म बाेकेर समाज बुझ्न सक्याे भने मात्रै यसकाे कर्मकाे अर्थ रहन्छ । समाजलाई बुझेकाे साहित्यले मात्रै समाजलाई देखाउन सक्छ ।
सिक्किम र दार्जीलिङमा नेपाली भाषा बोल्ने र लेख्नेहरू सय प्रतिशत नै छन् यसर्थ नेपाली साहित्यले ठूलो फाँट पाएको छ । गोर्खाल्याण्ड अथवा छुट्टै राज्यको आन्दोलनले दार्जीलिङमा भाषा-साहित्यको अग्रगतिमा केही बाधा-अड्चन आएको देखिए तापनि सिक्किम धेरै नै अगाडि बढिरहेको थियो, सयौंका सङ्ख्यामा प्रतिमहिना साहित्यिक कृतिहरू प्रकाशित भएर पाठकसमक्ष आइरहेका थिए , वर्तमानमा शिथिलता देखिन थालेको अनुभव सर्जकहरूले गर्न थालेका छन्। तर हामीलाई लाग्छ सिक्किम साहित्यको लागि भूमि उर्वर छ , गति अवश्य पाउने छ ।
पछिल्लाे समय साहित्यका विधाहरूमा कलम चलाउने धेरै नव सर्जक छन् यसलाइ कसरी लिनु भएकाे छ ?
पछिल्लो भन्नाले धेरै पछि पनि जान पर्ने हुन्छ। तर प्रायः अघिल्ला वा वर्तमान सर्जकहरूबाट सिर्जना भएका कृतिहरू समयसापेक्ष छन् , युग सुहाउँदो पाइन्छ । पाठकहरूका मनमा बिझ्ने खालका पनि छन् । युगले चाहेका भनौं कि आजको सभ्यसमाजले रुचाएका कृतिहरू हाम्रा सर्जकहरूको चासोको विषय बनेको छ, शायद यसलाई नै भनिन्छ ‘साहित्यमा सहकाल ।’ यहाँ सबै साहित्यकारहरूको नाम लिन सकिंदैन अनि केही साहित्यकारहरूको मात्र नाम लिएर पूरै साहित्य संसारलाई कनाह पार्न चाहँदिन ।
प्रथम प्रकाशित मुक्तक सङ्ग्रहकाे विमाेचन आमाबाट नै किन गराउनु भएकाे हाे ?
‘आमा’ अथवा ‘माता’ विश्वमा सबैभन्दा ठूली गुरुमाता हुन्, आदिगुरु हुन् , गुरुकी पनि गुरु , जननी हुन् । आमाबिना जीवन मात्र होइन शिक्षा पनि अधूरो हुनजान्छ । यसैले संसारमा सबैभन्दा ठूलो गुरुमाताका करकमलबाट मेरो कृति लोकार्पण हुनपाउनु आफैलाई सबैभन्दा भाग्यशाली ठान्दछु । विद्वान् साहित्यकारहरूसँग पनि भेटघाट गरेर भाषा-साहित्य र लेखन विषय छलफल गर्ने जमर्को पनि गरिएको थियो तर यो अदृश्य वैश्विक महामारीलाई मध्यनजर राखेर ‘मानिसको स्वास्थ्यभन्दा ठूलो साहित्य होइन ! ‘ ‘जीउ रहे घिउ पिउँला’ भन्ने अठोट ग-यौं ।
प्रकाशित र प्रकाशाेन्मुख साहित्य कृति ‘मुक्ता’ र ‘वर्षा’काे नामाकरणमा कुनै रहस्य छ की ?
मेरा दुइ छोरीहरू मेरो जीवनका प्रेरणाका स्रोत हुन् । मेरा मार्ग दर्शक हुन् र गुरु पनि हुन्। उनै दुई चेलीहरू समान मैले मेरा कृतिहरूलाई पनि जन्माएर, बढाएर, पढाएर यहाँसम्म ल्याइपु-याएर प्रकाशित गर्न सक्षम भएकी छु , यसर्थ यी दुवै कृतिहरू दुब छोरीहरूलाई सुम्पेकी छु र छोरीको नाममा मुक्ता र वर्षा राख्ने विचार गरेकी हुँ। अरू खास रहस्य छैन । छाेरीहरू पनि छाेरा सरह हाम्राे प्यारा सम्पत्ति हुन् भन्ने अर्थ दिन खाेजेकाे हुँ ।
अरु कुनै विधामा पुस्तक प्रकाशनकाे तयारी गरिरहनु भएकाे छ कि ?
एउटा कथासङ्ग्रह र कवितासङ्ग्रह प्रकाशोन्मुख छ । काेराेनाकाे कारणले केही ढिलाे भएकाे हाे प्रकाशनकाे चरणमा छ यथाशीघ्र पाठककाे हातमा पुर्याउने लक्ष्य छ । केही समयकाे अन्तरालमा त्याे पनि पाठकलाई सुम्पने छु ।
अन्त्यमा केही ….. ?
आजको साहित्य पाठक, विद्यार्थी, समाज र युगसापेक्ष होस् । विज्ञानमूलक लेखियोस् । साहित्यले समाजकाे मर्म बाेकेर समाज बुझ्न सक्याे भने मात्रै यसकाे कर्मकाे अर्थ रहन्छ । समाजलाइ बुझेकाे साहित्यले मात्रै समाजलाइ देखाउन सक्छ । यस्तै रचनाहरू नेपाली साहित्यमा पढ्न र लेख्न सकियाे बस् यत्ति हाे । मलाई मेराे अन्तरमनकाे कुराहरू पाठकबिच राख्ने अवसरकाे लागि अनलाइन परिवारलाई हार्दिक धन्यवाद ।