मकवानपुर । संघीय सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रदेश प्रमुख परिवर्तनकाे लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे छ । लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हाे ।
मङ्गलवारकाे मन्त्रिपरिषद् बैठकले २ वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ सिफारिस गरेको हो । यसअघि ओली सरकारले गण्डकीका अमिक शेरचनलाई प्रदेश प्रमुखबाट हटाएर सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो । प्रधानमन्त्री देउवाको अध्यक्षतामा मङ्गलवार बसेको बैठकले पाैडेललाई हटाएर पृथ्वीमान गुरुङलाई नियुक्तीकाे सिफारिस गरेकाे छ ।
यसै गरी लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई नियुक्तीकाे लागि सिफारिस गरेकाे हाे । नेपालकाे संविधानको धारा १६३ को उपधारा ४ मा एकै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्ने छैन भन्ने व्यवस्था रहेकाेले शेरचनलाई पुनः गण्डकीकाे प्रदेश प्रमुखमा नियुक्त नगरी लुम्बिनी प्रदेश पठाइएको हो ।
प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।