मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरुका बिच कार्यसम्पादन संझौता गरिएको छ । कार्य सम्पादन संझौता आउँदो असार मसान्त सम्ममा लागू हुने छ । बिगतका आर्थिक वर्षमा जस्तै चालु आर्थिक वर्षको सुरुमै मुख्यमन्त्री र मन्त्रीहरू बिच कार्यसम्पादन संझौता गरिएको हो ।
मुख्यमन्त्री पौडेलले शुक्रबार साउन ८ गते आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र सामाजिक विकास मन्त्री शरस्वती बस्नेतसंग कार्यसम्पादन संझौता गरेका हुन् । अन्य मन्त्रीहरु भने कार्यक्रममा उपस्थित थिएनन् ।
शुक्रबार नै मुख्यमन्त्री पाैडेल र मुख्यमन्त्री कार्यालयका प्रमुख सचिब डाक्टर मुकुन्द पौडेलका बिच पनि कार्य सम्पादन संझौता भएको छ । यसै गरी मुख्यमन्त्रीसँग कार्य सम्झाैता गरेका मन्त्रीहरूले आ–आफ्नाे मन्त्रालयका सचिवसँग आर्थिक वर्ष २०७८/७९ काे कार्य सम्पादन सम्झाैता गर्नु पर्ने छ ।
आर्थिक वर्ष २०७८/७९ मा मन्त्रालयहरुले सम्पादन गर्ने कार्यहरुका बारेमा मुख्यमन्त्री पौडेल र मन्त्रीहरुबीच कार्यसम्पादन करार सम्झौता आदानप्रदान गरिएको हो ।
यसैगरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र मातहतका मन्त्रालय र कार्यालयहरुले कार्यान्वयन गर्ने योजना र खर्चका विषयमा तत्काल हेर्न सक्नेगरी तयार पारिएको सफ्टवयर बीपीपीएमआइएसको पनि मुख्यमन्त्री पौडेलले शुभारम्भ गरेका थिए ।