- सन्देश घिमिरे
म झल्यास्स ब्युझदै गर्दा
ऐंठनले उकुशमुकुश मेरो श्वास बढेछ
नाडिको गतिले रफतारको सिमा नाघेछ
अनायास निमोठिएछन,
मेरा मिठा अँकुरीत सपनाहरु
हिजो आज र भोली निर्धारीत अवस्थामा
देखिएका, देखिदै गरेका र देखिने सपनाहरु
कसैले मेरो लाचारीको आड लिई,
मिल्काएछन रक्षानमा
मेरा स्मृतिका थोरबहुत सपनाहरु,
विपनाको हवाला दिदै,
मेरै अनुमति बेगर,
फोहर मलाईमा बिसर्जन गर्न आतुर छन कोही
र त बिवश छु, तिलाञ्जली दिन
मेरा सुखद भविष्यहरु,
एक डङ्गुर सपनासंगै
पन्छाइसकेँ ल्याण्ड फिल साइटमा
तैपनि हर रात गिजोल्न मलाई
आउछन कैयन रङ्गहिन सपनाहरु
केहि रगींन सपनाहरु
थोरै मुल्यवान त ,धेरै सस्ता सपनाहरु
तौलदै, ओल्टाई अनि पल्टाई, मुल्य शुचि भिराई
जतनसाथ कैद छन धेरैमा थोरै ति अमुल्य सपनाहरु
बडो सकसले सन्दुकमा कैद छन,
ति आशाका खजानाहरु
सुनौला भविष्यका साक्षीहरु
समृद्वीका स्वर्णिम स्वप्नाहरु
मनै आल्हादित बनाउने मृदु आवाजहरु
शान्ती र भातृत्वका सम्बन्धहरु
विकासको मुल फुटाउने जमर्कोहरु
अन्ततः सुखी र समृद्धीका चाहनाहरु
तर दुर्भाग्य ! यस्ता युगान्तकारी सपनाहरु,
कैद सन्दुकको चाबी
आफ्नै पोल्टामा खुसुक्क लुकाई,
निदाएछन महामहिमहरु
मस्त घुर्दैछन तिनै सन्दुकलाई सिरान हालेर
अनि देख्दैछन संक्रमित सस्ता सपनाहरु ।
कवि घिमिरे पेशाले स्वास्थ्यकर्मी हुन् ।