मकवानपुर । माधव नेपाल पक्षका एमाले सांसदले नेकपा एमाले पार्टीले साउन ४ गते पत्र मार्फत सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर पठाइएको जवाफमा प्रतिनिधिसभा पुनस्स्थापना भएपछि र विश्वासको मत नपाएपछि ओलीले संसदीय दलको नेताबाट राजीनामा दिनुपर्नेमा नदिइ आफैं प्रधानमन्त्री बन्न खोजेकोले देउवाको पक्षमा उभिएको उल्लेख गरिएको छ ।
राजीनामा नदिई पार्टी र दलको निर्णयबिना नै संविधानका विभिन्न प्रावधानअन्तर्गत आफैं प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकताविपरीत कुरा हो । त्यसैले त्यस्तो कार्यको विरोध स्वरुप विभिन्न क्रियाकलापहरु भएका हुन् । त्यस्ता क्रियाकलापलाई विधानविपरीत भन्न मिल्दैन ।’ ओलीलाई बुझाइएकाे स्पष्टिकरणमा भनिएकाे छ ।
अध्यक्ष केपी शर्मा ओलीकाे हस्ताक्षर गरेकाे असार ४ गतेकाे पत्रबाट २२ जना सांसदलाई स्पष्टीकरण सोधिएकाे थियाे । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई स्पष्टीकरण साेधिएकाे भए पनि पत्रमा संसदमा विश्वासको मत दिएको बारेमा भने कुनै प्रश्न साेधिएकाे थिएन ।
‘केन्द्रीय जनप्रतिनिधि संस्था लगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशन विपरीत विभिन्न कार्यहरु निरन्तर गराइएकाे छ’ २४ घण्टाभित्र जवाफ नदिए कारबाहीको चेतावनीसहित पठाइएको स्पष्टीकरण पत्रमा उल्लेख छ ‘पार्टीको विधान तथा नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालना गर्नुपर्ने उल्लेखित कर्तव्यको उल्लंघन गरे/गराएको ‘हुँदा तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्काशन नगर्ने ? २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ पेश गर्नुहोला।’