- मिसु श्रेष्ठ
‘जताततै डोजरले जोतेर जमिन थिलथिलो एकातिर ।अर्कोतिर खेतीयोग्य जमिनको खति।’ गाउँले यसै भन्थे ।आफ्नो जग्गा पर्नेको विरोध, अर्कोको जग्गा पर्नेको उक्साहट । कतिले अनेक गरेर घरसम्म नै बाटो पुर्याए । हिउँदमा गाडी पनि कुद्न थाल्यो । बर्षामा दलदल र खाल्डाखुल्डी हुन थाले। गाउँपालिकामा आएको सिमित बजेटले कता नि टाल्नु भन्छन् प्रमुख।
‘प्रमुखले आफू र आफ्नातिर मात्र योजना लगे !’ गाउँ तिर हल्ला सुनियो । विरोध सभा भयो ।रमेशको पहल कदमीलाई धेरैले समर्थन गरे । पालिकाका कति प्रतिनिधिहरुसँग शत्रुता पनि बढे ।समर्थन र विरोधको बाबजुद बजारसम्म पुग्ने मुख्य बाटो स्तरउन्नति भयो ।
गाउँमा निजी सवारीसाधनहरु बग्रेल्ति देखिन थाले । आवागमन सहज हुन थाल्यो । आन्दोलनका अगुवा रमेश घाइते भएर अस्पतालमा भर्ना भएकाे थियो । उसलाई भेट्न साथीहरू अस्पताल पुगे । ‘के भएको यार तिमीलाई ?’ साथीले सोध्यो । ‘नयाँ मोटरसाइकल, नयाँ बाटो, धेरै कुदायौ क्यार !’ अर्का साथीले जिज्ञासा राखे।
जिउ भरी चोट लागेको, दायाँ खुट्टा प्लाष्टर गरिएको थियोे रमेशको। ‘नयाँ बाटो, नयाँ बाईक स्पिड पनि भयो । सडकको दायाँबायाँ घाँस पलाएको थियो । चारपाँचवटा बाख्रालाई लामो बाँधेर छाडेका रहेछन् । ठाडो उकालोमा अल्झेर …।’ “हो र ? कस्का रै छन् बाख्रा चाहिँ ? क्षतिपूर्ति भराउनु पर्छ नि ! विक्रम उत्तेजनामा बोल्यो । रमेश सुस्तरी बोल्यो – ‘बाख्रा त आफ्नै हुन् नि !’
काँडाघारी, काठमाडौं