मकवानपुर । नेकपा एमालेले माधव नेपाल पक्षका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ।अध्यक्ष केपी शर्मा ओलीकाे हस्ताक्षर गरेकाे असार ४ गतेकाे पत्रबाट २२ जना सांसदलाई स्पष्टीकरण सोधिएकाे हाे । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई स्पष्टीकरण साेधिएकाे भए पनि पत्रमा संसदमा विश्वासको मत दिएको बारेमा भने कुनै प्रश्न भने गरिएको छैन।
‘केन्द्रीय जनप्रतिनिधि संस्था लगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशन विपरीत विभिन्न कार्यहरु निरन्तर गराइएकाे छ’ २४ घण्टाभित्र जवाफ नदिए कारबाहीको चेतावनीसहित पठाइएको स्पष्टीकरण पत्रमा भनिएको छ ‘पार्टीको विधान तथा नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालना गर्नुपर्ने उल्लेखित कर्तव्यको उल्लंघन गरे/गराएको ‘हुँदा तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्काशन नगर्ने ? २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ पेश गर्नुहोला।’
तर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने सर्वोच्च अदालतको आदेशअनुसार विश्वासको मत दिएकै आधारमा स्पष्टीकरण सोध्ने काम गलत रहेको बताएको छ।
