मकवानपुर । नेपाली राष्ट्रिय टोली क्रिकेटका बलर सोमपाल कामीले चितवन टाइगर्सको कप्तानी गर्ने भएका छन् । चितवन टाइगर्सले एक प्रेस विज्ञप्ति जारी गर्दै आगमी असोजमा हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा तीव्र गतिका बलर सोमपाल कप्तान र मार्की प्लेयर घोषणा गरेको छ ।
यसअघिका संस्करण सोमपालले काठमाडौंबाट खेलेका थिए । सोमपालले पहिलोपटक चितवनबाट खेल्दै छन् । यसअघि चितवनको कप्तानी पृथु बाँस्कोटाले गरेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा सोमपाल फ्रेन्चाइज लिगमा कप्तानीको राम्रो अनुभव छ ।
सोमपालले नेपाली फ्रेन्चाइज लिगमा पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर र धनगढी प्रिमियर लिगमा टिम चौराह धनगढीको कप्तानी गरिसकेका छन् । सोमपालसँग टी–१० लिग आबुधाबी र टी–२० क्यानडा अनुभव छ । सोमपाल तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।
ईपीएल असोज ९ देखि २३ सम्म (सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म) त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान काठमाडौंमा हुने तालिका छ । कोरोना महामारी अघि ईपीएल चौथो संस्करण सर्दै आएको थियो । चितवन टाइगर्सले गतवर्ष विदेशी खेलाडीमा अफगानिस्तानका मोहम्मद शाहजाद, पल स्टिर्लिङ, सिंगापुरका टिम डेविड र इंग्लयान्डका अलराउन्डर जेम्स फुलरको नाम सार्वजनिक गरेको थियो । चितवनमा सोमपाल कामी, सन्दीप सुनार, साहब आलम, दीलिप नाथ, ललित भण्डारी, कमल सिंह ऐरी, भीम सार्की, सागर ढकाल, आदिल खान, ईशान पाण्डे र खड्क बोहरा स्वदेशी खेलाडीका रूपमा छन् ।