मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन् । प्रधानमन्त्री देउवाले साउन ३ गते आइतबार बिहान विश्वासको मतका लागि संसद् सचिवालयमा पत्र दर्ता गराएका थिए । इतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १ सय ६५ र विपक्षमा ८३ मत खसेको छ । मतदानमा २ सय ४९ जना सांसद सहभागी भएकोमा एक सांसदले तटस्थमा मतदान गरेका छन् ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी मध्यावधी चुनाव घाेषणा गरेकाेमा सर्वाेच्च अदालतले प्रतनिधिसभा पुनर्स्थापित गरे पछी बोलाएको पहिलो बैठककाे पहिलाे दिनमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका हुन् ।
उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका केही सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् । देउवाको पक्षमा नेपाल र ओली दुवै समूहका केही सांसदले फ्लोर क्रस गरी मतदान गरे भने राप्रपा र नेमकिपाका एक-एक सांसदले मतदान गरेनन् ।
नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मत हाल्न सांसदहरूलाई निर्देशन दिएको थियो । पार्टीको निर्णय नमानेर देउवाका पक्षमा मत हाल्ने सांसदहरू एमालेमा नरहने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए । आइतबार राति संसद्मा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन् ।
त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका छन् भने नेपालनिकट १० सांसद मतदानको समयमा बैठककक्षबाट बाहिरिए । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका आठ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरे ।
ओली सरकारमा वन तथा वातावरणमन्त्री भएका प्रेमबहादुर आलेले देउवालाई विश्वासको मत दिए । त्यस्तै तनहुँ–१ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरे । हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेमबहादुर आले, किसान श्रेष्ठले शेरबहादुर देउवालाई मत दिएका हुन् । यी सबै यसअघि ओली पक्षमा थिए । उनीहरूले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्चको रिटमा हस्ताक्षर गरेका थिएनन् । यीमध्ये केही सांसदहरू गत वैशाख २७ गते मात्रै ओली समूहमा गएका थिए ।
देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने रहेका छन् । त्यस्तै, गोपाल बम, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री र कृष्णलाल महर्जन छन् ।
यसैगरी, विश्वासको मत दिन प्रतिनिधिसभा बैठकको सुरुमा अनुपस्थित भएको पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली मतदान गर्ने समयमा भने उपस्थित भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको ४ घण्टापछि ओली बैठकमा सहभागी भएका हुन् । यसअघि ओली संसद् भवनमा भए पनि बैठकमा सहभागी थिएनन् ।
यसैबीच नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केही सांसदहरू प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतदानमा सहभागी नहुने भन्दै बाहिरिएका थिए । नेता नेपालसँगको छलफलपछि मतदान प्रक्रिया सुरु हुनुभन्दा पहिला नै उनीहरू संसद् भवनबाट बाहिरिए । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले देउवालाई विश्वासको मत दिए । यसअघि ओलीको पक्षमा उभिएको महन्थ–महतो समूह देउवाको पक्षमा उभिएपछि देउवाले विश्वासको मत पाउने पक्का भएपछि एमालेका केही सांसदहरु बैठकबाट बाहिरिएको बुझिएकाे छ ।
एमाले माधव पक्षका झपट रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण विष्ट, राजबहादुर बुढालगायत सांसदहरू संसद् भवनबाट निस्किएका थिए । ओली पक्षमा रहेका सांसदले नै फ्लाेरक्रस गरी देवाकाे पक्षमा मतदान गरेपछि ओलीको पक्षमा एमालेभित्र ८३ सांसद मात्रै रहेको देखिन्छ ।
बैठकअघि नेपाल समूहमा रहेका एमाले उपाध्यक्ष भीम रावलले राजनीतिक अनैतिक काम भएको भन्दै राजीनामा दिएका थिए ।
एमालेबाट देउवकाे पक्षमा मतदान गर्ने सांसदहरु
१.माधवकुमार नेपाल २.विरोध खतिवडा ३. जीवनराम श्रेष्ठ ४. कल्याणी खड्का
५. मेटमणि चौधरी ६.भवानी खापुङ ७.मुकुन्द न्यौपाने ८. पार्वती विशुंखे
९. हिरा केसी १०. कृष्णकुमार श्रेष्ठ ‘किसान’ ११. गोपाल बम १२. प्रेमबहादुर आले
१३. धनबहादुर बुढा १४. विना बुढाथोकी १५. सरला यादव १६. पुष्पाकुमारी कर्ण
१७. लक्ष्मी चौधरी १८. निरादेवी जैरु १९. रामकुमारी झाँक्री २०. कलिला खातुन
२१. सविना हुसेन २२ कृष्णलाल महर्जन