मकवानपुर । काेराेना महामारीकाे कारण जारी निषेधाज्ञ साउन ७ गतेसम्मकाे लागि थप गरिएकाे छ । मकवानपुरमा एक साताका लागि निषेत्राज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकार भरतमणि पाण्डेले बताए छ ।
अहिले थपीएको निषेधाज्ञामा बजार खुल्ने समय भने केही थप गरिएको छ । साउन १ गते बाट थप गरिएको निषेधाज्ञामा अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी विक्री वितरण गर्ने पसलहरू विहान ४ बजेदेखि विहान ११ बजेसम्म खुल्न पाउने भएका छन् ।
यसैगरी अन्य गैर खाद्य पसलहरू विहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र खोल्न पाइने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
मकवानपुर जिल्लाभित्र कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि यस जिल्लामा मिति २०७८ साल असार ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा कायम गरिएकोमा जिल्लाभित्र संक्रमणको दर क्रमशः घट्दै गएको तर जोखिम यथावत नै रहेको हुँदा जिल्ला कोभिड व्यवस्थापन समिति, मकवानपुरको आजको सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा निषेधाज्ञा थप गरिएको हो ।
यता होटल, लज, रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलमा काम गर्ने कर्मचारी र कामदारहरूले अनिवार्यरूपमा स्वास्थ्य मापदण्ड पालना गर्ने र कोठाहरू दैनिकरूपमा निसङ्क्रमण गर्ने । तर, होटल, लज तथा रेष्टुरेन्टहरूमा कुनै पनि प्रकारको भोज भतेर, भेला, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न नपाइने भएको छ ।
पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्यरूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम, जनस्वास्थ्यका मापदण्ड पालना र भिडभाड नहुने सुनिश्चितता सम्बन्धित व्यवसायीले गर्नुपर्ने प्रजिअ पाण्डेको आदेशमा उल्लेख छ । उल्लेखित जनस्वास्थ्यका मापदण्डहरू पालना नभएको पाइएमा अनुगमन समितिको सिफारिसमा उक्त पसल तथा व्यवसाय निषेधाज्ञा अवधिभरको लागि बन्द गरिनेछ ।