मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले विभिन्न कृषियन्त्र तथा उपकरण वितरण गरेको छ । गाउँपालिकाले मंगलबार एक कार्यक्रम गरेर विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरुलाई कृषियन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो ।
गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र सफल हुन सकिने भन्दै त्यस तर्फ गाउँपालिकाले कदम चालेको बताए । कृषिमा समृद्धि ल्याउन उत्पादनमा जोड दिनुपर्ने भन्दै पालिकाले कृषि उपज उत्पादनमा लागेका किसानलाई प्रत्यक्ष अनुदानको व्यवस्था गरेको उनले बताए ।
गाउँपालिकाले कल्टिभेटरसहितको ठूलो ट्रयाक्टर २ वटा, मिनि टिलर २७ वटा, मकै छोडाउने मेशिन २० वटा र हाते मकै रोप्ने मेशिन २० वटा वितरण गरेको हो । कार्यक्रमबाट ५ वटा कृषि सहकारी, १६ वटा कृषक समूह र १२ वटा कृषि फर्मसहित कृषकहरु लाभान्वित भएको गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष विदुर हुमागाईंको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बा, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडा अध्यक्षहरु भागवत घिमिरे, रामप्रसाद तिमल्सिना, टीकाप्रसाद दाहाललगायतको सहभागिता थियो ।