मकवानपुर । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले चालु आर्थिक वर्षमा सम्पन्न गरेका कार्यक्रम र आगामी आर्थिक वर्षको लागि प्रस्ताव गरिएको कार्यक्रमबारे समिक्षा तथा जानकारी गराएको छ ।
स्थानीय तहका पदाधिकारीहरू तथा पत्रकारहरूको उपस्थितिमा कार्यक्रमको बार्षिक प्रगति समीक्षा तथा आगामी आर्थिक वर्षको कार्यक्रम बारे अन्तरक्रिया कार्यक्रम गरेको हो । मंगलबार आयोजना गरिएको कार्यक्रममा केन्द्रका प्रमुख बरिष्ठ पशु विकास अधिकृत सुशील केसि र पशु विकास अधिकृत डाक्टर ध्रुव डीसीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले केन्द्रबाट प्रवाह गर्दै आएको अनुदानमा आधारित कार्यक्रमहरु स्थानीय तहबाट प्रवाह हुनुपर्ने र केन्द्रबाट पशुस्वास्थ्य सेवाको कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताएका थिए । स्थानीय तहका पदाधिकारी र कर्मचारी प्रशासन बिच समन्वय नभएको कारण लक्षित प्रगति हासिल गर्न नसकिएको अन्तरक्रियामा बताइएको थियो ।गाईभैसी, बाख्रा, बंगुर, मस्त्य पालनको लागि स्थलगत तालिम, घाँसको लागि अनुदान प्रदान गर्दै आएको सेवा केन्द्रले संस्थागत संरचना अनुसारको कार्यक्षत्रलाई प्राथमिकता नदिएको थाहा नगरपालिकाका प्रमुख लबशेर विष्टले बताए । “व्यवसायिक कृषकहरुको लागि विभिन्न तालिमहरु स्थानीय तहहरुले गर्ने हो, भेटेरेनरी अस्पतालले आफ्नो प्रकारको सेवामा ध्यान दिनुपर्छ” प्रमुख विष्टले भने ।
डाक्टर डीसीका अनुसार अस्पतालले आगामी आ.वको लागि पहिलो पटक पशुमा हुनसक्ने महामारी नियन्त्रणको कार्यक्रम, मासु पसल सुधारको कार्यक्रम माग गरिएको छ । यसवर्ष १० वटा मासु पसल सुधार गर्ने कार्यक्रम माग केन्द्रले जनाएको छ । यसैगरी व्यवसायी पशुपालन, गोठ सुधार, किसानलाई अनुदान, रेन्बो ट्राउट माछापालन कार्यक्रमहरु पनि माग गरिएको केन्द्रले जनाएको छ ।
यसैगरी निजी सरकारी र सहकारी स्वामित्वमा रहेको बांझो बारीमा घाँस खेती कार्यक्रमलाई पनि यसवर्ष निरन्तरता दिने कार्यक्रम रहेको छ । केन्द्रले आगामी आवको लागि ५ करोड ४३ लाख बराबरको कार्यक्रम माग गरिएको डाक्टर डीसीले बताए ।
केन्द्रले हालै मात्र हेटौंडा उपमहानगरपालिका भित्र १०३ वटा कुकुरको बन्ध्याकरण गरेको डीसीले बताए । स्थानीय जनप्रतिनिधि र कर्मचारीतन्त्र बिचमा समन्वय नहुदा कार्यप्रगती अपेक्षाकृत उपलब्धि नभएको केन्द्र प्रमुख केसीले बताए । केन्द्रले चालु आर्थिक वर्षमा ७३ दशमलब २९ प्रतिशत भारित प्रगति र ७५ दशमलब ३१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाइएको छ।
त्यस्तै प्रधानमन्त्रीमन्त्री कृषि आधुनिकरण कार्यक्रम तर्फ ७० दशमलब ७७ प्रतिशत र बित्तीयतर्फ ६७ दशमलब २० प्रतिशत काम भएको जानकारी गराईएको थियो । यस्तै चालु आर्थिक बर्षमा गाई ब्लक कार्यक्रम अन्तरगत १३२, गोठ सुधार ४७ गरिएको थियो ।

कार्यक्रममा केसीले तिनै तहको सरकारसँग समन्वय नहुँदा कार्यक्रम कार्यान्वयनमा समस्या परेको बताए । कार्यक्रममा थाहानगर प्रमुख लबशेर बिष्ट, हेटौंडा उपमहानगर प्रमुख मिना कुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, ईन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जीवन लामाले मन्तव्य व्यक्त गरेका थिए ।
स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको सेवा गर्ने मौका पाएको तर अझै धेरै गर्न बाकी रहेको बताए । विषयगत कार्यालयहरुले अनुदानमा आधारित कार्यक्रम गर्दा जनप्रतिनिधिहरूसंगको सहकार्यलाई ध्यान दिन उनीहरूले आग्रह गरेका थिए ।