मकवानपुर । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले ४ जना मन्त्री नियुक्त गर्दै आफ्नाे मन्त्रिपरिषद् गठन गरेका छन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेसबाट २ जना नेकपा माओवादी केन्द्रबाट २ जना गरी ४ मन्त्री नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री भएका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा र पम्फा भुसाल मन्त्री बनेका छन् । खाँड गृहमन्त्री, कार्की कानुन मन्त्री, शर्मा अर्थ मन्त्री र भुषाल उर्जा मन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त चारैजना मन्त्रीले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रवक्तामा कार्की
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई सकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलको मंगलबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेका पहिलो बैठकले मन्त्री कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
यसै गरी देउवा नेतृत्वको सरकारको पहिलो बैठकले सबै नागरिकलाई चैत मसान्तभित्र कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेको छ । देउवा प्रधानमन्त्री भएपछि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म १ तिहाई नागरिकलाई खोप लगाउने र चैत मशान्तसम्म खोप लगाउन योग्य सबै नेपालीलाई खोप लगाउने निर्णय भएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यस्तै मन्त्रिपरिषद्को बैठकले सरकारको प्रमुख प्राथमिकतामा शान्ति सुव्यवस्था कायम गर्ने विषयलाई राखिएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शिघ्र पुनरुत्थान गर्ने विषय पनि सरकारको उच्च परेकाे छ ।
विकास निर्माण कार्यमा तीव्रता, दिँदै सार्वजनिक सेवाको प्रभावकारी वितरण वर्तमान सरकारको प्रमुख दायित्व निर्धारण गरिएको भने संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदुढीकरणलाई नवगठित सरकारले महत्वका साथ प्राथमिकतामा समेटेको छ । विपद्को प्राथमिकताका आधारमा व्यवस्थापन गरिनेछ । त्यस्तै, सरकारले स्थानीय तहको निर्वाचनलाई पनि आफ्नो प्राथमिकतामा समावेश गरेको छ ।