मकवानपुर । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बेलुका पद गाेपनियताकाे शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई सपथ खुवाएकी हुन्।मंगलबार बेलुका ६ बजे ताेकिएकाे सपथ कार्यक्रम राती ८ बजेर २५ मिनेटमा भएकाे थियाे ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएको राष्ट्रपति कार्यालयले जनाएको छ। सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश जारी गरेको थियो।
राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ति जारी गरी देउवालाई प्रधानमन्त्री नियुक्त गरेको थियो। संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीको नियुक्ति भए पनि राष्ट्रपति कार्यालयले सो कुरा उल्लेख नगरीकन प्रधानमन्त्री नियुक्ति गरेको पत्र जारी गरेको थियो। नियुक्तिमा राखिएकाे भाषामा संविधानकाे धारा उल्लेख नगरिएकाेले भाषा परिमार्जन गर्नुपर्ने भन्दै साँझ ६ बजे राखिएको सपथग्रहणमा देउवा सहभागी भएका थिएनन्। भाषा सच्याइएपछि देउवाले सपथ लिएको राष्ट्रपति कार्यालयले जनाएकाे छ ।
देउवा याे समेत पाँचौं पटक मुलुकको प्रधानमन्त्री भएका हुन् । उनी पहिलो पटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भए । त्यसपछि २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री रहे । असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले उनलाई पदबाट बर्खास्त गरेका थिए । देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री भए । तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरे ।
देउवा चौथो पटक २०७४ जेठ २३ देखि २०७४ फागुन ३ सम्म प्रधानमन्त्री भएका थिए । देश संघीय संरचनामा गए पछी देउवा नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश र संघीय निर्वाचन गराएकाे थियाे ।
देउवाकाे जीवनी
नेपाली कांग्रेसका सभापति समेत रहेका नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको जन्म वि.सं. २००३ जेठ ३१ गते डडेल्धुरा जिल्लाको साविकको असिग्राम गाविस वडा नम्बर ५ मा भएको हो ।
गाउँ नजिकै रहेको असिग्राम प्राथमिक विद्यालयमा प्राथमिक तहको अध्ययन गरेका थिए । सदरमुकामकाे महेन्द्र माविबाट निम्न माध्यमिक तहको अध्ययन गरेका देउवाले माध्यमिक शिक्षा डोटीमा रहेको सीताराम मावि उच्चकोटबाट लिएका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक देउवाले सन् १९८८–८९ मा बेलायतको प्रतिष्ठित शैक्षिक संस्था लन्डन स्कूल अफ इकोनोमिक्समा रिसर्च फेलोसमेत गरेका छन् । देउवा पत्नी डा. आरजू राणा पनि राजनीतिमा सक्रिय छिन् । देउवाका एक छोरा जयवीरसिंह देउवा बेलायतमा अध्ययन सकेर अहिले नेपालमै छन् ।
देउवा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका उनले स्कूले जीवनबाट नै देउवा नेपाली कांग्रेसको राजनीतिमा आवद्ध भइसकेका थिए । २०१७ सालको राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रूपमा सक्रिय उनी नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित अध्यक्ष भइ उनले २०२८ असोज १ देखि २०३६ फागुन २९ गतेसम्म काम गरेका थिए।
पहिलो पटक २०४८ सालमा कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए देउवा । वि.सं. २०४८ देखि २०५१ सम्म गृहमन्त्रीको पद सम्हालेका देउवा २०५२ देखि २०६१ सालसम्म ३ पटक प्रधानमन्त्री निर्वाचित भएका थिए । कांग्रेसको राजनीतिमा ६ दशकदेखि अनवरत सक्रिय देउवा २०७२ फागुनमा सम्पन्न १३औं महाधिवेशनबाट सभापति निर्वाचित भए ।
प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली-दलित-महिला-जनजाति-मधेश (कदमजम) को अवधारणा ल्याएका थिए । त्यस्तै उनकै पालामा कमैया मुक्ति घोषणा हुनुका साथै विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोग जस्ता विभिन्न आयोग गठन भएका हुन् ।
देउवा पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठन भएको नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति बने । २०६४ सालमा पहिलो संविधानसभा निर्वाचन अघि कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उनी वरिष्ठ नेता भए ।
देउवा २०४८ सालदेखि भएका सबै आमनिर्वाचनमा गृह जिल्ला डडेल्धुराबाट विजय हासिल गर्दै आएका छन् । उनी प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ सालमा भएको आमनिर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, २०५६ सालको आमनिर्वाचनमा विजयी भएका थिए ।
त्यस्तै २०६४ मा सम्पन्न पहिलो संविधानसभामा डडेल्धुरा र कञ्चनपुर–४ तथा २०७० सालमा भएको दोस्रो संविधानसभामा डडेल्धुरा र कैलाली–६ बाट निर्वाचित देउवा २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भने डडेल्धुराबाट विजयी भएका हुन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले प्रजातन्त्र पुनर्वहालीका लागि पटक–पटक भएका आन्दोलनका क्रममा १० वर्ष १० महीना जेलजीवन विताएका छन् ।