मकवानपुर /नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यले पु¥याएको योगदानको विषयमा चर्चा परिचर्चा गरिएको छ । २०८ औँ भानुु जयन्तीको दिनमा नवोदय साहित्यिक बगैँचा बाल क्लवले सोमबार भर्चुअल प्रविधिबाट विशेष कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि रहेका भानुभक्त समालोचनात्मक दृष्टिकोण साहित्यकार तथा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले आदिकवि भानुभक्त आचार्यलाई दुईवटा दृष्टिकोणबाट चर्चा परिचर्चा हुने गरेको बताएका छन् ।
‘महान काम गरे भनेर एकथरी मानिसले देवत्ककरण गर्ने काम गरे भने अर्का थरिले भानुभक्तले लेखेका लेख रचना, श्लोकहरुलाई आलोचना गर्नतर्फ केन्द्रीत भएको देखिन्छ । भानुभक्तले पु¥याएको योगदानलाई निमिट्यान्न पार्ने प्रयास साहित्यमा भएको पनि देखिन्छ ।’ रामायणलाई भानुभक्तले अनुवाद गरेका होइनन् भावानुवाद गरेका हुन् निखिलले भने ‘रामायण भानुभक्तले सुनेकाले उनले नेपालीमा भावानुवाद गरेका हुन् ।’ भानुभक्तले लेखेको रचनालाई स्वस्थ आलोचना गरेमात्र उहाँलाई सम्मानका लागि सच्चा ठहरिने उनको भनाइ रहेको छ । सोमबार भएको विशेष कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको जीवनकथामा आधारित नाटक प्रदर्शन, पोलिङ, वर्तमान अवस्थामा बालसाहित्यलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा बहस, तीनपुस्ते साहित्यकारहरुको रचना वाचन रहेको थियो ।
कार्यक्रममा वर्तमान अवस्थामा बालसाहित्यलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा पत्रकारबाट सुरेश श्रेष्ठले टीप्पणि गरेका थिए । ‘अहिलेको समयमा यति धेरै स्थान दिँदा पनि विद्यालयबाट जसरी विद्यार्थीका रचनाहरु आउनु पर्ने हो त्यति नआएको दुःखदायी छ’ श्रेष्ठले भने ।
‘हामीले फोन गरेर पठाउनु भन्दा पनि कतिपयले त वास्ता नै गर्नुहुन्न, तर पछिल्लो समय अलिअलि विद्यालयहले नेपाली भाषका शिक्षकहरुलाई जिम्मा दिएर पठाउने गरेको छ’ पत्रकार श्रेष्ठले भने ।
त्यस्तै शिक्षक दीपक गौतमले विद्यालयले जुन किसिमले वातावरण दिनुपर्ने हो त्यति दिन नसकेको र नेपाली भाषाका शिक्षकहरु नै कामचोर भएपछि जुन रुपले विद्यार्थीका सिर्जनालाई स्थान दिएर अगाडि बढ्नु पर्ने हो त्यो रुपले अगाडि बढ्न नसकीएको उनले बताए । ‘यहाँ औँलामा गन्न सकिने विद्यालयले मात्र यस्तो उदाहरणीय कार्य गरिरहेको छ’ गौतमले भने ।
‘हामीजस्ता विद्यार्थीले वातावरण पाउने हो भने कुनै पनि विषयमा सिर्जनशील बन्नलाई बेरै लाग्दैन । हरेक साहित्यिक कार्यक्रममा जसरी नवोदयले विद्यार्थीलाई नै अवसर दिएर सञ्चालन गर्दै आएको छ यस्ता अवसरहरु सबैले पाउनुपर्छ” विद्यार्थीबाट धनगढीका विभूति अधिकारीले भने।बालसाहित्यकार यशु श्रेष्ठले “विद्यालयस्तरमा बाल पुस्तकहरु ६ महिना पढेर आफूलाई फेरि मूल्याङ्कन गर्नुस् धेरै नै फरक पाउनु हुन्छ, बोलीमा, व्यवहारमा तथा परीक्षाका हरेक लेखाइहरुमा झल्कीनु पर्ने बताए ।
त्यस्तै बालबालिकाको मनोविज्ञानलाई बुझेर बाल पुस्तकहरु निकाल्नुपर्छ ताकि उनीहरुले पढ्न रुचि देखाऊन् ।” यसैगरी रचना वाचनमा पुरुषोत्तम आचार्य र प्रशन्ना चौलागाईंले २÷२ वटा पद्यमा रचना वाचन गरेका थिए । नवोदय साहित्यिक बगैंचा बालक्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक अनुषा उप्रेतीको अध्यक्षतामा कार्यक्रम भएको हो । गत वर्षदेखि नवोदय साहित्यिक बगैंचा बालक्लबले भानुजयन्ती विशेष कार्यक्रम गर्दै आइरहेको छ।
सरल नेपाली भाषामा लेखिएको ‘रामायण’ का कारण भानुभक्तको नेपाली साहित्यमा योगदान छ । नेपाली साहित्याकाशमा भानुभक्तलाई आदिकविकाे उपमाले चिनिन्छ । भानुभक्त नेपालका राष्ट्रिय विभूति हुन् । हाम्राे घर–घरमा पढिने रामायणलाई नेपाली भाषामा लेखेर सवै नेपालीलाई गुन लगाएका छन् ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तले घाँसीबाट प्रेरणा पाएर उनले रामायणलाई नेपालीमा लेखेकाे मानिन्छ । भानुकाे बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचनालगायत कृति प्रकाशित छन् । राष्ट्रिय पहिचान, एकता र नेपाली सांस्कृतिक र साहित्यिक चेतना जगाउन भानुभक्तको योगदान रहेको छ।
आजकाे दिन नेपालकाे काठमाडाै लगायत भानुकाे प्रतिमा रहेकाे स्थानमा माल्यार्पण सहित साहित्यिक र प्रभातफेरी गरी उनकाे सम्झना गरिन्छ । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका ठाउँमा पनि मनाइन्छ । भानुभक्तको विसं १९२५ असोजमा निधन भएको थियो ।