मकवानपुर । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र वैधानिक रहेको निर्णय गरेको छ ।आयोगको आइतबार बसेकाे बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने निर्णय गरेको आयोगले जनाएकाे छ ।
हाल नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुको तर्फबाट अधिवक्ता सराेज बुढाथोकीले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाएर आयोगमा निवेदन दिएका थिए । उक्त निवेदनमा नेकपा माओवादी केन्द्रले २०६९ सालयता महाधिवेशन नगरेको भन्दै वैधानिकतामा प्रश्न उठाइएको थियो ।
निर्वाचन आयोगले एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल गौरवशाली पार्टी र अन्य राजनीतिक दलहरु संयुक्त भई २०७३ साउन ३२ गते नेकपा माओवादी केन्द्र नामक दल दर्ता भएको देखिएको उल्लेख गरेको छ ।
त्यस्तै नेपालको संविधान जारी भएपछि राजनीतिक दलहरुलाई दर्ता हुन सूचना प्रकाशन गरेपछि नेकपा माओवादी केन्द्रले २०७३ मंसिर ३० गते दल दर्ता गरेको र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन पनि दल दर्ता गरेको आयोगले उल्लेख गरेको छ ।