मकवानपुर । प्रतिपक्षको तिव्र विरोधका बाबजुत बागमती प्रदेश सरकारको आर्थिक बजेट आइतबार पारित भएको छ । पटक पटक संसद नै अवरुद्ध गर्दै आएको प्रतिपक्षको विरोधकै बिच आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित भएको हो ।
आइतबार साँझ प्रदेशसभामा भएको छलफलपछि बजेट पारित भएको हो । बागमती प्रदेश बाहेक देशको अन्य कुनै पनि प्रदेशले आगामी वर्षको लागि प्रस्तावित बजेट हालसम्म पास गर्न सकेको छैन । विनियोजन विधेयक निर्णयार्थ पेश गर्दा सत्तारुढ नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी मात्र प्रदेशसभाको बैठकमा सहभागी थिए । विपक्षी दलका सांसदहरु प्रदेशसभा बैठकबाट बाहिरिएका थिए ।
आइतबार दिउँसो बसेको प्रदेश सभाको बैठकमा विनियोजित बजेट माथिको छलफलमा विपक्षी दलले सरकारले ल्याएको बजेट विभेदकारी रहेको आरोप लगाएका थिए । प्रतिपक्ष दलहरुलाई उपेक्षा गर्दै एकलौटी ढंगबाट बजेट पास गरेको भन्दै यो दिन इतिहासकै कालो दिने भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले विपक्षी दलहरुको सुझावको उपेक्षा नगर्ने आग्रह गरेका थिए ।
आइतबार विहान ११ः ४० बजेदेखि निरन्तर संचालन भएको प्रदेशसभा बैठकमा विभिन्न समयमा विद्युत अवरुद्ध भई बैठक प्रभावित भइरहेको र सदनमा खर्च कटौतीको प्रस्ताव राखेका सांसद्हरुले फिर्ता लिने वा नलिने काम बाँकी रहेकोले भोलि जेठ २८ गते बैठक पुन राख्न विपक्षी दलहरुले आह्वान गर्दा समेत त्यसको उपेक्षा गर्दै सत्तारुढ दलका सांसद् मात्रै सदनमा उपस्थित भई बैठक सञ्चालन गरिएको थियो ।
विनियोजन बजेटमाथि आवश्यक छलफल नै नगरी सत्तारुढ दलले बहुमतको दम्भ देखाउँदै एकलौटी ढंगबाट बजेट पास गरेकोले त्यो स्वीकार्य नहुने बानियाँले बताए ।
प्रतिपक्षद्वारा बहिस्कार
विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा विद्युत आपूर्ति अवरुद्ध भएपछि प्रतिपक्षी दलले सोमबार विनियोजन विधेयकमाथिको छलफल अघि बढाउन सभामुख सानुकुमार श्रेष्ठसंग आग्रह गरेका थिए ।
अव्यवस्थित ढंगले संसद नचलाउन अनुरोध गर्दा पनि सुनुवाई नभएको भन्दै प्रतिपक्षले आक्रोष पोखेका थिए । “भोली छलफल गरौं भनेर विपक्षी दलहरुले कुरा राख्यौं तर सभामुख ज्यूले पेलेर अघि बढ्नु भयो” नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले भने । अव्यवस्थित र असुरक्षित ढंगबाट संचालन भएको संसद बहिस्कार गरेको प्रतिपक्षी दलहरुको भनाई छ । विनियोजन विधेयक बैठकमा निर्णयार्थ पेश हुँदा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, विवेकशिल साझा पार्टी, राप्रपा र स्वतन्त्र संसद संसदमा थिएनन् भने नेमकिपाले पक्षमा मत राखेको थियो ।
बागमती प्रदेश सरकार आर्थिक वर्ष २०७८/०७९ को लागि बिनियोजित बजेट १ असारमा प्रदेश सभा समक्ष पेश गरेको थियो । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कुल ५७ अरब ७२ करोड ९ लाख २७ हजार बजेट बिनियोजन गरेको छ । कुल बजेट मध्ये चालु खर्चमा २६ अर्ब १ करोड ६६ लाख २३ हजार (अर्थात ४५ प्रतिशत), पुँजीगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार ( अर्थात् ५१ प्रतिशत), वित्तिय व्यवस्थापनतर्फ २ अर्ब ( अर्थात् ४ प्रतिशत) बिनियोजन गरेको हो ।
आगामी आर्थिक वर्षको लागि अनुमानित गरिएको खर्च व्यहोर्न स्रोत मध्ये कर राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख संघीय सरकारबाट वित्तिय हस्तान्तरण प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविधि प्राप्ति १ अर्ब ५ करोड ९ लाख चालु आवको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरेको छ ।
प्रदेश सभाको अर्को बैठक असार २८ असार गते विहान ८ बजे बस्ने गरी सभामुख सानुकुमार श्रेष्ठले आजकाे बैठक स्थगित गरेका छन् ।