- गीताश्री शर्मा
अविरल र रञ्जना छोरा क्षितिजलाई लिएर दिल्ली पुगे। क्षितिज उच्च शिक्षाको निम्ति युके जाने। छोराले दिल्लीबाट यूके जाने उडान समाएपछि निन्याउरो मुख लाएर फर्किए दुवै। बाबा-आमाको काख एकछिन् नछोडेको छोरा पढ्न सात समुद्र पारी हिंड्यो । घरकै भात खाएर आमा-बाबाका काखबाट स्कूल गएको क्षितिज। बेङ्गलुरूमा बसेर ग्रेजुएसन गर्दा पनि एक्लो हुन दिएका थिएनन् । छोरालाई भेट्न अविरल र रञ्जना प्रायः पालो पालो बेङ्गलुरू गइरहन्थे।
क्षितिजले बाबा-आमाको कदर गर्न जानेको थियो। स्कूल जाने समयमा पनि आमा-बाबालाई सम्झाएर मात्र जाने गर्दथ्यो । बेङ्गलुरूको क्राइष्ट कलेजबाट ग्रेजुएसन गर्दा पनि मासकम्युनिकेशनमा कलेज टप गरेर गोल्ड मोडल थापेको थियो । यसर्थ उसको तीक्ष्ण बुद्धि र पढाइको कदर गरेर मास्टर र पीएचडी गरोस् भन्ने सोचेर यूकेको नाम चलेको विश्वविद्यालय पठाउने व्यवस्था गरिएको थियो। पढाइ र शिक्षामा कहिले पनि नानीहरूको इच्छा मार्नुहुन्न भन्ने अविरल र रञ्जनाको मत एउटै थियो । दुवै सरकारी कर्मचारी, छोराको रहरलाई कदर गरेका छन्। आफन्त र छरछिमेकीहरूले बाहिर नदेखाए पनि भित्र जलन गर्थे भन्ने अन्दाज सजिलै लगाउन सकिन्थ्यो।
सन्तान अरू पनि चाहिन्छ भन्नेहरू नआएका होइनन् तर राधाकृष्ण जस्ता माता-पिताले एक कानले सुनेर अर्को कानले उडाइदिएका थिए । छोरालाई यूके पठाएर घर आएपछि अविरल र रञ्जना आफैमा हराएका थिए। एक अर्कासँग कम बोल्ने । रञ्जना एकोहोरिएकी देखेर अविरल सान्त्वना दिंदै भन्ने गर्दथे ,- ” रञ्जु ! क्षितिज पढ्न गएको हो । यति सानो मन गरेर हुँदैन, दुइ-तीन वर्षमा आइहाल्छ नि।” छरछिमेकी भेट्न आउँथे! कसैले सम्झाउँथे, सान्त्वना पनि दिन्थे। कसैले आगोमा घिउ थपेर जान्थे, “उम्क्यो माछा हातबाट। प्रदेश गएको छोरो र खोलामा हानेको ढुङ्गा उस्तै उस्तै हो ! ” भनिराखेर पनि जान्थे ।
बडादशैं, तिहार, क्रिशमस र नयाँ वर्षको छुट्टी लगातार थियो । अफिसियल छुट्टी लामै प-यो। रञ्जना स्कूलकी गुरुमा दुइ महीनाको हिउँदे छुट्टी थियो तर पनि यसपाली कतै नजाने मन बनाए। साथी-भाइ, छरछिमेकले सोधे पनि, छुट्टीमा कतै नजाने? छोराको फखेटा लागि गयो ! नयाँ जिन्दगी शुरुगर्न कतै गए भैगो नि । एउटै भएको छोरा घरमा नहुँदा घुम्न जान पनि मनलाग्दैन, अविरल र रञ्जनालाई बाहेक कसले अनुभव गरेको होला ।
मङ्लबार रञ्जनाको वर्त । पूजा-पाठ सकिन्। चिया खाँदै बार्दलीमा बसेर एकरात क्षितिज बिरामी हुँदा रोएरै आमाको काखमा छर्लङ्ग उज्यालो बनाएको घटना सम्झिन पुगिन् । क्षितिज दशौं श्रेणीको बोर्ड परीक्षामा ‘स्टेट फस्ट ‘ भएको सुअवसरमा साथीभाइ बोलाएर ‘गेट टुगेदर ‘ गरेको कुरा आँखाअघि आए । परीक्षाका कारण जन्मदिनमा पनि आशीर्वाद मात्र दिएर साथीभाइहरूलाई बोलाउने काम पनि पछाडि गरेको कुराले रञ्जनालाई आहत तुल्यायो ।
चामलको रातो टीका र खादा लगाउँदै, “क्रिकेट, ड्रामा र स्कूलका कार्यक्रममा सधैँ व्यस्त रहने ! पुस्तकहरू पल्टाएकोको कमै देखिन्थ्यो कसरी फस्ट भयौ हौ तिमी त ? ” भनेर सानी छ्यामाले क्षितिजलाई भनेका दिनदेखि त्यो छ्यामालाई फर्केर पनि नहर्ने कुरा आमासित गरेको थियो ! अनि दिनभरि आउने जानेहरूलाई खानापिना खुवाएको । शकुन्तला र रमला दिनभर किचनमा खटेर पनि रातभरि खुशीयाली गरेका कुराले रञ्जना मुस्कुराइन् , बेलाबेला भावुक बनेर बसिन्। तर छोरा क्षितिज अझ राम्रो पढेर आफ्नो भविष्य निर्माण र निर्धारण गर्न यूके गएको छ ।
रञ्जना अतीतमा थिइन् , बेल बजाएको आवाजले एकाएक एकाग्रता भङ्ग भयो , आँखा पुछ्दै उठेर ढोका खोल्न पुगिन्। तर ढोकामा कोही थिएन । हुन सक्छ छरछिमेकका नानीहरूले बेल बजाइराखेर भागेका पनि। नानीहरूको बदमासी न हो।
समय परिवर्तनशील छ , समय बित्न के बेर ! पाँच वर्ष बितेको पत्तै भएन । रञ्जना रूममा पसिन्, टी भी खोलेर न्यूज चेनल लगाइन्, ब्रेकिङ न्यूज थियो, ” छोटा राज्य सिक्किम के सपुत क्षितिज ने राज्य का ही नहीं देश का नाम रोशन कर दिया, यूके गभर्मेन्ट ने क्षितिज शर्मा को गोल्ड मेडल से नवाजा गया , एघार अक्टोबरको देश वापस आ रहा है, केन्द्र सरकार , एचआरडीडी विभाग दिल्ली में भव्य स्वागत के साथ उन का पद्म विभूषण से सम्मानित करने जा रहा है ।”
पहिला त रञ्जनालाई विश्वास भएन , दोहो-याएर हेरिन् , अर्को न्यूज चेनल लगाइन् , प्रायः चेनलमा ब्रेकिङ न्यूज नै यही थियो । अविरललाई फोन गरिन् , उनले अघि नै हेरेर फोन गर्न लागेको कुरा बताए । रञ्जना माथितला चड्दैथिइन्, ल्याण्डलाइनको घण्टी बज्यो , फोन उठाइन् , “दिदी न्यूज हेर्नुभयो ? जताततै क्षितिजकै चर्चा छ , यूके सरकारबाट गोल्ड मेडल पाउँदै रहेछ , भारत सरकारले पनि पद्मविभूषण दिने रे । ” क्षितिजकी सानी सानीमाले फोन गरेको रहेछ, रञ्जनाले प्रत्युत्तर दिइन्, – “खोई कान्छी! के भन्नु ? , बा ! चोरेर पायो कि के गरेर पायो , मलाई त विश्वास नै लागेको छैन, ऊ आएपछि थाहा होला ।” गडङ्ग फोन राखेको आवाज रञ्जनाका कानमा अहिले पनि प्रतिध्वनित भइरहेको छ ।
– गान्तोक, सिक्किम