मकवानपुर । सिविन बाल हेल्प लाइन मकवानपुरले कोरोना महामारीको समयमा जनस्वास्थ्यको उपचारमा सहजता प्रदान गर्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल, जिल्ला प्रहरी कार्यालय मकवानपुर (महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र) र मनहरीको कोभिड अस्पतालको लागि स्वास्थ्य सामग्री सहयोग गरिएको हो । प्रतिष्ठानलाई स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका रजिष्टार राजेश प्रसाई, डाक्टर रामचन्द्र सापकोटालगायतको उपस्थिती थियाे।
यसैगरी जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सेवा केन्द्र इन्चार्ज चुडाकुमारी खड्कालगायतको उपस्थिती रहेको थियो । यसैगरी मनहरीमा आयोजना गरिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष एकराज उप्रेती, आइसोलेसन इन्चार्ज ज्योतिराज लुइटेलको उपस्थिती थियो ।

मकवानपुर जिल्ला मनहरी गाउपालिका – ८ स्थित म कोभिड अस्पतालको लागि कोभिड–१९ आपतकालिन सहयोग परियोजना सञ्चालित बाल हेल्पलाइन १०९८ मकवानपुरबाट शुक्रबार स्वास्थ्य सामग्री वितरण गरेको हो ।
स्वास्थ्य उपचारको लागि सहयोग स्वरुप मास्क, हेन्ड सेनिटाइजर, फेस मास्क, बेड म्याट्रेस, बिरामीको लागि ट्रली, बीपी सेट (स्टेथोस्कोप सहित) स्टीमर, ग्लोब्स, सर्जिकल ग्लोब्स, सोडियम हाइपोक्लोराइडलगायतको सामग्री बाल हेल्प लाइनकी सम्झना अधिकारीमार्फत प्राप्त भएको आइसोलेसन इन्चार्ज ज्योतिराज लुइटेलले बताए ।

यसैगरी सिविनले शुक्रबार कोभिड–१९ आपतकालिन सहयोग परियोजना नै हेटौंडा उपमहानगरपालिका वडा –१० स्थिती जिल्ला प्रहरी कार्यालयको लागि पनि स्वास्थ्य सामग्री सहयोग गरेको सिविन मकवानपुरका प्रमुख झविन्द्र ज्ञावलीले बताए । प्रहरी कार्यालयको लागि मास्क, हेन्ड सेनिटाइजर, फेस मास्क, इन्फारेड थर्मोमिटर, फेस शिल्ड ग्लोब्स, हेन्ड वास, लगायतको स्वास्थ्य सामग्री सहयोग गरिएको सिविनले जनाएको छ ।