मकवानपुर । पर्यटकीय क्षेत्रकाे विस्तार तथा व्यवस्थापनकाे लागि प्रदेश सरकार सकारात्मक रहेकाे प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेलले बताएका छन् ।
बागमती प्रदेशको राजधानी रहेको हेटौंडामा फरक ढंगले पर्यटक आकर्षण गर्न होमस्टे सञ्चालनमा ल्याईने तयारी भएको उनले बताएका छन् । विशेष गरी प्रदेश २, भारतीय पर्यटक र बागमती प्रदेशका स्थानीय पर्यटकलाई लक्षित गरेर हेटौंडा उपमहानगरपालिका १४ नम्बर वडा ड्राइभर डाँडामा होमस्टे गाउँ निर्माण भईरहेको छ । शुक्रबार होमस्टे गाउँ निर्माण स्थल पुगेका मुख्यमन्त्री पाैडेलले यस्ताे बताएका हुन् ।
हेटौंडा उपमहानगरपालिका १४ नम्बर वडाको ६ लाख र प्रदेश सरकारको ३० लाख लागतमा १० वटा होमस्टे निर्माण भईरहेको छ । होमस्टे सञ्चालन अब आउने आर्थिक वर्ष २०७८/०७९ भित्र हुने वडाध्यक्ष दिपक खड्काले बताए । उनले भने ‘हामीले १४ नम्बरमा १० वटा होमस्टे सञ्चालन गर्ने योजना बनाए अनुरुप यहाँका स्थानीयलाई लमजुङको घलेगाउँ र बन्दिपुरको होमस्टेमा लगेर तालिम दिएका छौं । सोहि अनुरुप होमस्टेको लागि आवश्यक भवनहरु निर्माण सम्पन्न हुने वित्तिकै सञ्चालन गर्नेछौं । ’
होमस्टको लागि आवश्यक अनुमतिको लागि उपमहानगरको पहलमा पर्यटन बोर्डमा पहल भईरहेको वडाध्यक्ष खड्काले बताए । उनले होमस्टे सञ्चालन भएपछि आवश्यकता र माग अनुसार होमस्टे थप्न सकिने बताए ।
होमस्टेमा स्थानीय परिकार, स्थानीय संस्कृती झल्कने गरी लोकल कुखुरा, ढिँडो, गुन्द्रुकलगायत हुने बताए । यस्तै गुन्द्री, सुकुल, चकटीहरु समेत प्रयोग गरेर स्थानीय झल्को दिने गरी निर्माण सम्पन्न हुने वडाध्यक्ष खड्का बताउँछन् । स्थानीय क्षेत्रमा बसाेबास गर्दै गर्दा स्थानीय परीकारकाे स्वादहरू चखाउने, संस्कारकाे प्रदर्शनी गर्दा स्वतः प्रचार हुने उनले बताए ।