मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले विद्युतीय सवारी सञ्चालनमा अवरोध गर्नु निरर्थक भएको भन्दै सरकारले जस्तोसुकै विरोधको बाबजुत पनि विद्युतीय बस सञ्चालन गर्न दाबि गरेका छन् ।
वातावरणीय स्वास्थ्यलाई समेत सकारात्मक प्रभाव पार्न सक्ने राम्रो कामको विपक्षि दलले ब्यर्थको विरोध गरेको मन्त्री फुयाँलले बताए । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री फूयाँलले भने “पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विस्थापित गरी वातावरण मैत्री नवीकरणीय उर्जाबाट चल्ने सवारी सञ्चालन गर्ने काममा अवरोध गरिए भावी पुस्ताप्रति अन्याय हुने छ ।”
प्रदेश सरकारले हरित प्रदेशको अवधारणाअनुरुप वातावरणमैत्री विद्युतीय बस सञ्चालन गरेर स्वच्छता अभियानको उद्घोष गर्न लागेकोले यसमा साथ दिन उनले आग्रह गरे । मन्त्री फुयालले विद्युतीय बस खरिद, पूर्वाधार निर्माण तथा सञ्चालनका हरेक क्रियाकलापहरु पारदर्शी हिसाबले हुने भन्दै अन्य कुनै बहाना वा कारण देखाएर रोक्नु नहुने धारणा बताए ।
प्रदेश सरकारले सरकारी जग्गामा स्थानीय तह तथा विद्युत प्राधिकरणसँगको समन्वयमा चार्जिङ्ग स्टेसन निर्माण गर्ने तयारी गरेको बताउँदै मन्त्री फूयाँलले भने “यसमा कसैले बाधा व्यवधान गर्नुहुदैन,यदी कसैले त्यस्तो गरे त्यहाँका स्थानीय विकास पे्रमी नागरिकहरुले त्यस्ता क्रियाकलापको विरोध गर्नेछन् ।”
प्रदेश सरकारले निर्माण गर्न लागेको चार्जिङ्ग स्टेसनलाई लक्षित गरेर प्रदेश सरकारका पूर्वमन्त्री शालिकराम जम्कट्टेलले कुनैपनि अवस्थामा स्टेसन बन्न नदिने भन्ने अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै मन्त्री फुयालले सरकारको उद्देश्य र योजनामा पूर्वमन्त्रीलाई सहमत गराएर पहिला धादिङमै स्टेसन बनाइने बताए ।
प्रदेश सरकारले हेटौंडा, भरतपुर, नुवाकोट, बालाजु नयाँ बसपार्क, धुलिखेल तथा काठमाडौंका दुईवटा यातायात व्यवस्था कार्यालयलगायतका स्थानमा चार्जिङ मेसिन राखि सुविधा सम्पन्न विद्युतीय बस सुलभ भाडा दरमा प्रदेशवासीको लागि सञ्चालन गर्न लागिएको बताए ।
विपक्षको विरोध जारी
बागमती प्रदेश सरकारले बिद्युतीय बस खरिदका लागि टेण्डर प्रकृया अघि बढाएको बिरोधमा प्रतिपक्ष दलहरुले लगातार प्रदेश सभाको बैठक अवरुद्ध पादै आएको छ ।
एमाले र माओवादी केन्द्र एउटै पार्टी रहँदा सरकारमा सहभागि हुँदादेखि नै प्रदेश सरकारको प्राथमिकतामा परेको बिद्युतीय बस सञ्चालनको योजनामाथि अहिले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले विमति जनाउँदै आएको छ ।
बागमती प्रदेश सरकारले पहिलो बजेट भाषणमा २०८५ सम्म प्रदेशलाई पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधन विस्थापित गर्ने गरी नीति तथा कार्यक्रम र बजेट पास गरेको थियो ।
अहिले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत त्यतिबेला विरोध गरेको थिए । जब बस खरिद प्रकृयाका लागि सरकारले टेण्डर प्रकृया अघि बढायो तब भने प्रमुख प्रतिपक्ष दल माओवादी र नेपाली कांग्रेस विरोधमा उत्रिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले चार्जिङ स्टेशन सहित बस खरीदका लागि टेण्डर आब्हान गरेपछि माओवादी केन्द्र विरोधमा छ । केन्द्रलाई नेपाली कांग्रेसका सांसदहरुको साथ छ ।
मन्त्रालयले बिद्युतीय बस खरीदको आवश्यकता र औचित्य पुष्टी गर्न प्रदेश सांसदहरुसँग अन्तरक्रिया आयोजना गरेका बेला प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्मकट्टेल धादिङमा कुनै हालतमा चार्जिङ स्टेशन बनाउन नदिने पक्षमा रहेको बताए । उनले गजुरीमा आफ्नै बोलवाला चल्ने भन्दै धादिङभरी नै स्टेशन बन्न नदिने दाबि गर्दै आएका छन् ।
बागमती प्रदेशमा बिद्युतीय बस सञ्चालन भए अहिले भईरहेको पेट्रोलिय पदार्थको खपत र डिजेल पेट्रोलबाट चल्ने भारतीय सवारी साधनको व्यापारमा गिरावट आउने भन्दै भारतीय कम्पनी प्रदेश सांसदहरु मार्फत बिद्युतीय बस खरीद प्रकृया रोक्न लबिङ गरिरहेका छन् । भारतीय सवारी साधन आयातमा लगानी रहेका कांग्रेस सांसद इन्द्र बानियाँ बिद्युतीय सवारी भित्रिा नदिने रणनीतिमा छन् । बानियाँ र जम्मकट्टेललाई उपयोग गर्दै भारतीय कम्पनी बागमती प्रदेश सरकारको महत्वकाक्षी योजना विफल बनाउन लागि परेको बुझिएको छ ।
नेपालमा हाईड्रो पावरमा लगानी बढिरहेको छ । यहाँ बिद्युत उत्पादन बढिरहेका बेला वातावरण मैत्री बिद्युतीय सवारी साधनको प्रयोग गर्न बागमती प्रदेश सरकार प्राथमिकताका साथ लागेको छ । प्रदेश सरकारले बिद्युतीय बसलाई सेवामुखी ढंगबाट सञ्चालन गर्न लागेको मुख्यमन्त्री डोरमणि पौडेलले बताए । तत्काल ३० वटा बिद्युतीय बस सञ्चालनका लागि धुलेखेल–काठमाडौँ–धादिङ र हेटौँडामा रहेका सरकारकै मातहतमा सञ्चालित बस पार्कमा चार्जिङ स्टेशन ब्यवस्थापन गर्ने प्रदेश सरकारको तयारी छ ।