मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मगलबार मकवानपुरमा २ वटा पुलकाे उद्घाटन गरेका छन् । मकवानपुरको बकैया गाउँपालिकाकाे २ वटा पुल उद्घाटन मुख्यमन्त्री पाैडेल गरेका हुन् ।
पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अब विकासको युग प्रारम्भ भएकाे बताए । अहिलेकाे सरकारले देशैभरी विकासको काम गरेको तथा बागमती प्रदेश सरकारको साढे ३ वर्षको कार्यकालमा मात्र हालसम्म ४६ वटा पुल निर्माण भएर सञ्चालन भैसकेको पाैडेलले बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सांसद कृष्ण प्रसाद दाहालले बकैया गाउँपालिकामा विकासको मुहान फुटेको बताए । बकैया नदि प्रणालिलाई उचित तटबन्धन गरेर हजारौ विगहा जमिन खेतियोग्य बनाउन सकिने कुरालाई मध्यनजर गर्दै यो पटकको बजेटमा संघीय सरकारले पनि तरकारी भण्डारणको लागि बकैयामा बजेट विनियोजन गरेको उनले बताए ।
मुख्यमन्त्री पौडेलले वकैया वडा नंबर ३ बकैया खाेलामा निर्माण भएकाे र ५ ठाँटी खाेलामा निर्माण भएकाे २ वटा पुलको उद्घाटन गरेका हुन् । २६ दशमलब २५ मिटर लम्बाई तथा ७ दशमलब २० मिटर चौडाई रहेकाे बकैयाको श्रीपुर र रातदमार बिचमा रहेको ठाँटी खोलाको पुल बागमती प्रदेश सरकार र स्थानीय सरकार बकैया गाउँपालिकाको संयुक्त १ करोड रुपैँयाको लगानीमा निर्माण भएकाे हाे । पुल निर्माण पछि बकैया वडा नंबर ४,५ र ६ का वासिन्दाहरुलाई सहज भएको छ ।
यसैगरी मगलबार नै बकैयाको हात्तिसुडेबाट बसन जोडने झोलुङ्गे पुलको पनि उद्घाटन भएको छ । संघीय सरकारको आर्थिक सहयोग, राडो नेपाल तथा टीभीएसयुको प्राविधिक सहयोगमा पुल निर्माण भएको हो । पुल निर्माण पछि बकैयाको ठाँटी खोलाले गर्दा हुने धेरै समस्याको निराकरण हुनुको साथै पुलको अभावमा खोलाकाे कारण बर्षेनी हुने धनजनकाे क्षती कम हुने स्थानीयहरु बताउँछन् ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे सहित स्थानीय राजतीतिककर्मी, वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।