मकवानपुर । बागमती प्रदेशसभाकाे साेमबारकाे बैठक पनि अबरुद्ध भएकाे छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र तथा प्रतिपक्ष दल नेपाली कांग्रेसले बैठक अबरूद्ध गरेका हुन् । विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिए अनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गरेका हुन् ।
माओवादी केन्द्र तथा कांग्रेसका सांसदहरुले बैठक अबरुद्ध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएका छन् ।
बैठक सुचारू भए लगतै विपक्षी दलका सांसद उठेपछि सभामुख श्रेष्ठले प्रमुख प्रतिपक्षी दल माओवादीका नेता शालिकराम जम्कटेललाई बोल्न समय दिएका थिए। उनले मुख्यमन्त्रीसँग बजेटमा भएका असन्तुष्टिबारे छलफल नभइ बैठक अघि नबढाउन सभामुखसंग आग्रह गरेका थिए । त्यसपछि सभामुख श्रेष्ठले बस्न अनुरोध गरेपनि सांसदहरूले उठेर अवरोध कायम गरेपछि सभामुखले संसद स्थगित गरेका हुन् ।
यसअघि शनिबार बसेको प्रदेशसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा बागमती प्रदेश सरकारकाे गौरबको योजना भनिएकाे भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न नहुने तथा आफैले सञ्चारगृह स्थापना गर्न नहुने सहितका माग राख्दै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र तथा प्रतिपक्ष दल कांग्रेसले प्रदेशसभा बैठक अबरुद्ध गरेका थिए ।