मकवानपुर / बागमती प्रदेश सभा अवरुद्ध भएको छ । सरकारले पक्षपाती ढंगले बजेट ल्याएको, बजेट पुस्तिकामा न्यायोचित वितरण नदेखिएको र प्रदेश सरकारले आफै संचारगृह चलाउने विषय फिर्ता लिनुपर्ने लगायका विषयलाई लिएर नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले संसद अवरुद्ध
गरेका हुन् ।
शनिबार बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथि बोल्दै विपक्षी दलहरुले संसद अवरूद्ध गरेका हुन् ।
पुर्वाग्रही बजेट नसच्याए पास हुँदैन: माओवादी
प्रदेश सभाको वैठक अवरुद्ध गर्नु अघि बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले स्थानीय तहमा जाने सशर्त अनुदान बजेटमा समेत पूर्वाग्रही ढंगले विनियोजन गरेको भन्दै आपत्ति जनाए । उनले सशर्त बजेट नसच्याउने भए बजेट छलफद अघि नबढ्ने बताए । जम्मकट्टेलले सुरूङमार्ग र बिद्युतीय बसबारेसमेत असन्तुष्टि व्यक्त गर्दै बजेटबाट हटाउन माग गरे ।
ऐन नै नभएको अवस्था र देश आर्थिक रूपमा टाट पल्टने अवस्थामा प्रदेश सरकारले आफै संचारगृह चलाउने विषय फिर्ता लिनुपर्ने उनले बताए ।
संघिय सरकारको इकाइ जस्तो देखियो: कांग्रेस
यस्तै विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन संघीय सरकारको इकाइको रूपमा अघि बढेको आरोप लगाए ।
उनले बजेट पुस्तिका नै दुई ढंगको नआउनु गलत भएको भन्दै एउटै पुुस्तक बनाएर नआएसम्म संसद अघि बढ्न नसक्ने बताए । नेता वानियाँले सिन्धुपाल्चोकलाई सरकारले झुक्याएको भन्दै विपदमा परेका जिल्लालाई सरकारले व्यवस्था गर्न नसक्ने भए कांग्रेसले आफ्नो सेवा सुविधा जनताको राहतमा खर्चिन तयार रहेको बताए । उनले प्रदेश सरकार आफैले संचारगृह चलाउने कुराको पनि विरोध गरेका छन् ।
साना दलको पनि विरोध
बागमती प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस सहित साना दलहरु विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी, राप्रपाका सांसदहरुले पनि विनियोजन विधेयक विरुद्धमा एक भएका छन् ।
प्रदेश सभामा बोल्दै विवेकशील साझाका सांसद रमेश पौड्यालले असार १ गते बजेट पेश गरेर लामो समय छलफल भएकोमा आपत्ति जनाउँदै सिन्धुपाल्चोक क्षेत्रमा यातायात सुचारू गर्नुपर्नेमा जोड दिए । उनले विधि र प्रक्रिया विपरित समय नै नदिई बजेटका २ वटा पुस्तक छापेर अनधिकृत काम भएको बताए ।
संसदको अवहेलना गर्दै भएको गलत कामबारे यसको जवाफ मूख्यमन्त्रीले जवाफ दिनुपर्ने बताए । मिडिया हाउस सरकारले चलाउनु गलत हुने बताए । यस्तै नेमकिपाका सुरेन्द्र राज गोसाईले प्राकृतिक विपत्ति र कोभिड–१९ को मारमा परेका जनतालाई बजेटले सम्बोधन नभएको बताए । सांसदहरुको विरोध पछि बागमती प्रदेश सभा आइतबार विहान ११ बजेसम्मका लागि स्थगित गरिएकाे छ ।
पत्रकार अमृत चिमरियाकाे सहयाेगमा