मकवानपुर । कृषिमा आत्मनिर्भरताको खोजि गर्दै बागमती प्रदेश सरकारले प्रदेशकाे राजधानि मकवानपुरको हेटौंडामा अन्तराष्ट्रिय स्तरको कृषि बजार निर्माणको प्रक्रिया सुरु गरेको छ ।
कुल २८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्नेलक्ष्य रहेकाे अन्तराष्ट्रिय स्तरको कृषि थोक बजार निर्माणकाे लागि शुक्रबार शिलान्यास कार्यक्रम गरिएकाे छ । बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरर्गतको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा प्रादेशिक कृषि थोक बजार निर्माण सुरु भएको हो ।आज शुक्रबार कृषि थोक बजारको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभ-याङमा कृषि थोक बजार निर्माणको गरिने भएकाे हाे । बजार निर्माणकाे लागि दुई बिगाहा ४ धुर क्षेत्रफल जग्गाकाे व्यवस्था गरिएकाे छ । कृषि विकास निर्देशनालयको ७० र उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा कृषि थोक बजार निर्माण सुरु भएको हो ।
थोक बजार स्थापना भईसकेपछि कृषि बजारहरुमा उपयुक्त भण्डारण, सित भण्डार, प्याकिङ, ग्रेडिङ, प्रशोधनलगायतको सुविधाहरुको अपर्याप्तता र अभाव जस्ता समस्याको अन्त्य हुने भएको आशा गरिएकाे छ । थोक बजारले कृषकहरुले न्यून मूल्य पाउने, उपभोक्ताले चाहे अनुसार गुणस्तरीय उपज नपाउने र उपभोक्ता र फार्म गेट मूल्यको अन्तर बढि हुने समस्याको समेत समाधान गर्ने अपेक्षा गरिएको छ । कृषि थोक बजार निर्माण भइसकेपछी हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिनेछ ।
शिलान्यास कार्यक्रममा बोल्दे मुख्यमन्त्री पौडेलले हेटौंडाबासीका लागि गौरबको काम भएको बताए । यहाँबाट प्याकेजिङ गरेको तरकारी देशका सबै जिल्ला र बिदेशमा समेत लग्न सकिने उनले बताए । कोल्डस्टोर्स सहित कृषि सुपर मार्केट निर्माण हुँदा सबैलाई सहज हुने उनले बताए ।
कुनैपनि बहानामा कृषि थोक बजार निर्माणको काममा ढिलाइ नगर्नका लागि मुख्यमन्त्री पौडेलले निर्माण कम्पनिलाई निर्देशन दिए । सरकार फेल हुने भनेको ठेकेदारले समयमानै काम नगर्दा हुने भएकाले छिटो काम सकेर पुरस्कार लिन प्रेरित गरे ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले पनि समय अगाबै काम सकेर पुरस्कार लिनका लागि आग्रह गरे । कृषि थोक बजार निर्माणमा मन्त्रालयको तर्फबाट कुनै पनि बाधा हुन नदिने र सहयोग गर्ने उनले बताए ।
कार्यक्रममा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलीया, हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, उपमेयर मिना कुमारी लामा, मन्त्रालयका सचिव मतिना बैद्य जोशी, उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईं लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम कृषि विकास निर्देशनालय हेटौंडाका निर्देशक रबिन्द्र बहादुर प्रधानको अध्यक्षतामा भएको हो ।
प्रदेश सरकारले कृषिमा आत्मनिर्भरताकाे लागि चक्लाबन्दी खेति प्रणाली, सामूहिक खेति प्रणाली, शितभण्डार निर्माण जस्ता कार्यक्रमलाई प्राथमिकता दिदै आएकाे छ ।