मनसुनी वायुको प्रभावका कारण देशका केही स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो।
बागमती प्रदेशको मकवानपुर र लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीमा आज भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको स्वचालित वर्षा मापन केन्द्रका अनुसार, मकवानपुरको हेटौंडामा पछिल्लो १२ घण्टामा १२२ मिलिमिटर वर्षा भएको छ। मकवानपुरको रजैयास्थित वर्षा मापन केन्द्रले रजैया आसपास १२ घण्टामा २२१ मिलिमिटर वर्षा भएको जनाएको छ। नवलपरासीको बर्दघाटमा १६४ मिलिमिटर वर्षा भएको छ।
यसरी छोटो समयमा धेरै पानी पर्दा भूक्षय र बाढीको सम्भावना बढी हुन्छ। वर्षा जारी रहेको ती स्थानमा सतर्कताका लागि साइरन बजाइएको छ। २४ घण्टामा ५० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई भारी, सय मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई धेरै भारी र २०० मिलिमिटर वर्षालाई अति भारी वर्षा भनिन्छ।
आज राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
बिहीबार र शुक्रबार पनि प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सतर्कताका लागि अनुरोध गरेको छ।
:https://www.himalkhabar.com/news/124695 बाट