मकवानपुर । हाल मकवानपुर सहित देशका अधिकांश ठाउँमा वर्षा भइरहेकाे छ । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकोले देशका अधिकांश ठाँउमा बर्षा भइरहेकाे हाे । देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेकोले देशका अधिकांश भागमा सामान्य देखि पूर्ण बदली रही भारी बर्षाकाे सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ। बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
‘प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । उक्त प्रदेशहरुको पहाडी भू-भागमा भु-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’ महशाखाले आगामी २४ घण्टाका लागि चेतावनी दिँदै बुलेटिनमा भनेकाे छ ।