- गीताश्री शर्मा
मङ्गलीको सधैं मुखमा सुपारी च्याप्ने बानी । भात खाइसक्या छैन, सुपारी मुखा हाल्नै पर्ने । सौदा-पात जाँदा उबारेको पैसाले दुइ-चार टुक्रा भए पनि सुपारी किनेर थैलीमा हालेकै हुने। मेला-पात जाँदा मुखमा आधा कप्टेरो नै चेपेको हुन्थ्यो । सुपारी उनको अभिन्न मित्र, एक-अर्काका पर्याय ।
मङ्गलीका पति हर्कमानको समय प्रायः हल गोरुसँगै मेलापातमै बित्थ्यो । कहिले आफ्नो त कहिले पर्मा वा दैनिक रोजगारीमा । हलगोरु नै उनको आयस्रोत भने हुन्छ। हर्कमानले गाउँ-घर, छरछिमेक रिझाएर राखेका छन् , पर्खेर भा’पनि हर्कमान नै चाहिने । मङ्गली र हर्कमानको सानो चिटिक्क परेको सानो घर र चारपाथी धानको बिउ जाने खेत छ । यसो साग- सब्जी रोप्नलाई गोडाचारेक सुख्खा बारीका पाटा भनौं कोठेबारी पनि छ । कमेरो र रातो माटोले पोतेको घरलाई दिनैपिच्छे सिकुवा र मझेरी हरियो गोबरले लिप्ने गर्थिन्। माटोले बनाएको दुइमुखे चुल्होमा दाल-भात सब्जी मिलिक्कै पाक्थ्यो । हर्कमानले हिउँदमा बारीमै चिरेका दाउराले वर्षभरि पुगिहाल्थ्यो।
हर्कमान र मङ्गलीकी मुटु एउटै छोरी झुमा, एघार वर्षकी पढ्नमा असाद्धै राम्री र बाठी थिइन् । गाउँकै विद्यालयको पाचौं श्रेणीमा पढ्थिन् । ईश्वर वन्दनापछि सधैँ मदिरा सेवन गर्दा जीउमा पुग्ने नोक्सानी, गुटका खाँदा गर्ने असर, धुम्रपानले हुने हानी र बिमारी बारे,स्वास्थ्य सम्बन्धी शिक्षा, खानपान र सरसफाई विषयमा विद्यार्थीहरूले छोटा-छोटा निबन्धात्मक टीकाटिप्पणी दिनुपर्ने नियम थियो। झुमाले यी कुरा ध्यान दिएर सुन्थिन् अनि आफ्नो पालोमा बोल्ने पनि गर्थिन् ।
स्कूलबाट आएपछि छोरी झुमाले आमालाई भनिन्,”आमा,तपाईं किन सधैं सुपारी खानुहुन्छ? स्वास्थ्यको लागि राम्रो होइन त !”
मङ्गलीले अँध्यारो अनुहार पार्दै भनिन्, ” नानी ! म न सुर्ती खान्छु , न बंगाली खान्छु, न पान , न मदिरा नै सेवन गर्छु ! मैले खाने अम्मल भनेको यही सुपारी मात्र त हो।”
” सुपारी तपाईंलाई साह्रै मनपर्छ ?” बालखा छोरी झुमाले निर्दोष प्रश्न गरिन् ।
अप्ठ्यारो मान्दै आमाले भनिन् , “तिमीलाई जति चक्लेट मनपर्छ । “
“छोड्न सक्नु हुन्छ आमा ? ” झुमाले सोधिन् ।
“तिमीले मिठाई छोड्न सक्छ्याै भने म पनि सुपारी छाेड्न सक्छु।”
” त्यसो’भा आजदेखि तपाईं सुपारी छोड्नुहोस् म चकलेट ! ” झुमाका निर्दोष आँखाले आमालाई हेरिन्, आमाले पनि छोरीलाई एकटक लगाएर मायालु नजरले हेरिन् अनि अँगालोमा कसिन् ।
आज पूरा दुइ महिना भएछ, झुमाले चकलेट मुखमा हालेकी छैनन् । जन्मदिनमा साथीभाइले ल्याइदिएका मिठाई पनि सबै स्कूलमा लगेर बाँडिदिइन् । मङ्गली सौदापात गर्न जाँदा दोकानेले पनि , ” दिदी! सुपारी कतिको दिउँ ? “भनेर सोध्न छोडेको छ ।
मङ्गलीले सुपारीको स्वाद भुलिन् । सुपारीको तलतल पनि लाग्न छोड्यो । एकदिन अनायसै आमाले बजारबाट आउँदा चकलेट,टफी र केही मिठाईहरू बोकेर आएकी थिइन् । झुमा होमवर्क गर्दै सिकुवामा बसेकी रहिछन् । ” नानी, यतिका दिन मिठाई नखाँदा तिमीलाई कस्तो कस्तो लागेको छैन ? ” झुमाले टाउको उठाएर मायालाग्दो नजरले आमालाई हेरेर भनिन् , “तपाइँलाई सुपारीको तलतल लागेको छ कि छैन ? “
” छैन छोरी, मैले त सुपारीको स्वाद पनि भुलिसकें, तलतल त परैजाओस् । लु भन छोरी ! मलाई सुपारी खान किन दिइनौ ? “
बिहानमात्र स्कूलमा झुमाले सुपारी र गुट्काबाट हुने हानी र असरबारे दिएको वक्तव्य आमालाई हुबहू सुनाइन् , आमा-छोरी खुशीले गदगद् भइरहेका थिए, अघि आमाले बजारबाट ल्याएका मिठाईहरू झोलाबाट निकालेर नाबालक छोरीका हातमा राखिदिएर बलियो अँगालोमा बाँधेर छोरीका गालामा म्वाई खाइन् । हर्कमान आफ्नो दैनिकी सकेर टुप्लुक्क आइपुगे ।
गान्तोक, सिक्किम