- सुन्दरी घिमिरे खतिवडा
१.
भिजेको पछ्यौरी अगेनामा सेकाएको सम्झन्छु
उन्को खाने बेला रित्तो भाँडो देखाएको सम्झन्छु
तर पनि हाँसी हाँसी दुःख पीडा लुकाउँदै आमाले
संघर्ष गरेर छोराछोरीको भोक मेटाएको सम्झन्छु।
२.
पानामा बुद्ध तिम्रा तस्वीर छरिए
तस्वीरमा अनेकन रङ्ग भरिए
शान्तिको धुन पनि बज्न छोडेन तर
अफसोच हत्या हिंसा धेरै गरिए।
३.
कुकर्म र पाप कोसँग कति छ
संका उपसंका मनमा जति छ
फूललाई काँडै काँडा देख्नेहरु
सोच्दैनन् किन आफ्नै कस्तो मति छ ?
४.
रुखका हाँगा पात सजाउन पो होकी
चारो टिपाी बचेरा अघाउन पो होकी
निलो निलो गगनमा उडे जोडी पंक्षी
बिरक्त भै मन बहलाउन पो होकी ।
५.
आफ्नै घरमा फर्कि आउ है खोली तरेर
बिलासियौ कि पराईको जालमा परेर
इँटा थप्दै, दुःख ,कष्ट झेल्दै बनाएको घर
चम्काउनु छ लिपपोत गरी रङ्ग भरेर।
६.
न आदि हुन्छ यसको न त हुन्छ अन्त नै
न रोकिन्छ बर्षातमा न पर्खन्छ बसन्त नै
अड्दैन आदेशमा यो, न त धाक धम्कीमा
चलिरहन्छ समय अनादि र अनन्त नै ।
सङ्खुवासभा