देशभर हाल मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले मुलुकका अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहेकाे छ । साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार शुक्रबार बिहान प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानमा भने चट्याङसहित भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश नं १ र बागमती प्रदेशका १/२ स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको महाशाखाले जनाएकाे छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेकाे छ ।