मकवानपुर । मकवानपुर जिल्ला सहित देशैभरीका स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सभामा विहीबार प्रस्तुत गरेका छन् । नेपालकाे सविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ ।
स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐन समेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेकाे छ ।
स्थानीय तहलाई सङ्घीय र प्रदेश सरकारले समानीकरण अनुदान, समपुरक, राजस्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराएका छन् । यस वर्ष स्थानीय तहले यस अगाडिका अधुरा योजना कार्यान्वयन गर्नुपर्ने चुनौती छ । स्थानीय तहका हालका जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने अन्तिम वर्ष हो । स्थानीय तहले २०७४ सालमा भएको निर्वाचनका क्रममा जनतासामु गरिएका वाचा पूरा गर्ने, आवधिक योजनालाई कार्यान्वयन गर्ने गरी बजेट ल्याएका छन् ।
हेटाैडा उपमहानगरपालिका
हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपँयाको बजेट नवाैं नगरसभामा प्रस्तुत गरेकाे छ । उपमहानगरपालिकाको नवौ नगरसभामा उपप्रमुख मिनाकुमारी लामाले आर्थिक वर्ष २०७८/७९ को लागि पेश भएकाे नीति तथा कार्यक्रम कार्यान्वयनका लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।
उपप्रमुख लामाका अनुसार पुर्वाधार विकास तर्फ १ अर्ब ३० करोड ६० लाख ७६ हजार, आर्थिक विकासतर्फ १२ करोड ९८ लाख, सामाजिक विकासतर्फ ६३ करोड ९२ लाख ९९ हजार, स्वास्थ्यतर्फ ८ करोड ६१ लाख १० हजार, संस्कृति प्रवर्द्धनतर्फ २ करोड ३७ लाख, खेलकुद तथा मनोरञ्जनतर्फ ३ करोड ७२ लाख ८० हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ३ करोड ७ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५ करोड ४४ लाख २२ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ १ करोड ९१ लाख बजेट विनियोजन गरिएको छ ।
यसैगरि उपप्रमुख लामाका अनुसार आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख ७५ हजार, राजस्व बाँडफाँडबाट ५६ करोड ८ लाख ८१ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट १२ करोड ६६ लाख ९६ हजार, संघीय सरकारको अनुदान १ अर्ब २ करोड १ लाख, नगर विकास कोषबाट ऋण अनुदान ९ करोड र गत बर्षको नगद मौज्दातबाट ५६ करोड रुपँयाको व्यवस्थापन गरिनेछ ।
थाहा नगरपालिका
मकवानपुरकाे उत्तरी क्षेत्रमा रहेकाे थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ९५ करोड ६४ लाख ३२ हजार रुपैयाको बजेट ल्याएको छ ।
नगरपालिकाको नवौ नगरसभामा उपप्रमुख खड्ग बहादुर गोपालीले आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गरेका हुन् । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि अन्तरिक स्रोत तर्फ ११ करा ८८ लाख ४९ हजार, राजश्व बाडँफाँड तर्फ १६ करोड ५३ लाख ४९ हजारको बजेट पेश गरेको हो ।
त्यस्तै संघीय सरकारबाट अनुदान ५७ करोड ५५ लाख, प्रदेश सरकारबाट अनुदान ९ करोड ६७ लाख ३४ हजार गरि जम्मा ९५ करोड ६४ लाख ३२ हजारको बजेट बाँडफाँड गरिएको उपप्रमुख गोपालीले जानकारी दिए । जसमध्ये चालु खर्चतर्फ रु ८ करोड ५७ लाख ४५ हजार र पुँजीगत तर्फ ४२ करोड ७५ लाख ८१ हजार, सशर्ततर्फ ३२ करोड ३१ लाख ६ हजार, सामाजिक सरुक्षा तर्फ १२ करोड गरी जम्मा ९५ करोड ६४ लाख ३२ हजार खर्च पेश भएको हो ।

मनहरी गाउँपालिका
मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ८३ करोड ६७ लाख ४६ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष मनिला विष्टले गाउँपालिकाको नवाैं गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बजेट सार्वजनिक गरेकी हुन् ।
गाउँपालिकाले चालु र पुँजिगत कार्यक्रम तर्फ एकमुष्ट ८३ करोड ६७ लाख ४६ हजारको बजेट विनियोजन गरेर बिगत वर्षहरुमा संचालन गर्दै आएको निति तथा कार्याक्रमहरुलाई निरन्तरता दिईएकाे छ ।
भीमफेदी गाउँपालिका
मकवानपुरको भीमफेदी गाउँपालिकाले ६५ करोड ४२ लाख ९९ हजारकाे बजेट सार्वजनिक गरेकाे छ । गाँउपालिका उपाध्यक्ष पार्वती रानाले गाउँसभा प्रस्तुत गरेकाे बजेटमा कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने लक्ष्यसहित हेर्न जाऊँ टनेल गाउँ भन्ने नारासहित कृषि पर्यटनलाई जोड दिएको छ ।
यस्तै, गाउँपालिकाले भीमफेदीको हात्तीसार क्षेत्रमा साहसिक खेल जिपलाइन र भीमफेदी गाउँपालिका ९ मा रक क्लाइम्बिङ योजना सार्वजनिक गरिएकाे छ ।
मकवानपुरगढी गाउँपालिका
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ६२ करोड ९२ लाख १७ हजार ५ सय रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।
विहीबार गाउँपालिकाले गाउँसभामा आगामी वर्षको नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाले विनियोजन गरेको बजेटको पुँजीगत खर्च ३२ करोड ६९ लाख ४७ हजार र चालू खर्च २७ करोड ५ लाख ६० हजार रुपैयाँ रहेको छ ।
बकैया गाँउपालिका
मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपैयाँ ९६ पैसाको बजेट विहीबार गाउँसभामा प्रस्तुत गरेको छ ।
गाउँपालिकाले आन्तरिक आयबाट २ करोड ७० लाख ६० हजार, चालू वर्षको मौज्दात कोषबाट ३३ करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपैयाँ ९६ पैसा, संघीय सरकारबाट प्राप्त २७ करोड ३८ लाख, बागमती प्रदेशबाट प्राप्त १ करोड ७७ लाख र प्रदेश समपुरक अनुदानबाट २ करोड ९७ लाख ६४ हजार आय प्राप्त हुने जनाएको छ ।
राक्सिराङ गाउँपालिका
मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि कुल ५४ करोड ७३ लाख २० हजार रुपैयाँ बजेट गाउँसभामा प्रस्तुत गरेको छ ।
गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङले गाउँपालिकाको दशाैं गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै बजेट पेश गरेकी हुन् । गाउँपालिकाले आगामी आर्थिक वर्षकाे लागि चालूतर्फ २८ करोड ८४ लाख रुपैयाँ र पूँजीगत २५ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको छ ।
बागमती गाउँपालिका
बागमती गाउँपालिकाले विहीबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले गाउँसभामा ५३ करोड ६६ लाख ९८ हजार रुपैयाँको बजेट गाउँसभामा प्रस्तुत गरेकाे हाे ।
नीति कार्यक्रम अनुसार, गरीवी निवारणमा सहयोग पुर्याउने, वातावरणीय सन्तुलन कायम राख्ने, छिटो प्रतिफल र उत्पादनमूलक बनाउने शिक्षा, स्वास्थ्य र खानेपानी लगायतका क्षेत्रहरु प्राथमिकतामा समेटिएका छन् ।
कैलाश गाउँपालिका
कैलाश गाउँपालिकाले विहीबार गाउँसभामा ४५ करोड ९६ लाखको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट अनुसार, पालिकाले २० करोड पुँजिगततर्फ (४५ प्रतिशत) र २५ करोड रुपैयाँ चालु तर्फ (५५ प्रतिशत) बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले स्वास्थ्य, सडक तथा पूर्वाधार, कृषि पशु, शिक्षा र पर्यटन लगायतका क्षेत्रहरु प्राथमिकता राखेर बजेट सार्वजनिक गरेकाे जनाएकाे छ ।
इन्द्रसरोवर गाउँपालिका
मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकाले मकवानपुरका स्रथानीय तह मध्य सबैभन्दा कम बजेट प्रस्तुत गरेको छ । इन्द्रसरोवर गाउँपालिका विहीबारकाे गाउँसभामा आगामी आर्थिक वर्षका लागि ३८ करोड ४१ लाखको बजेट सार्वजनिक गरेको छ गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिए ।