मकवमनपुर । मकवानपुरमा संचालनमा रहेकाे २ वटा आइसोलेसनलाई फरक फरक संस्थाले खाद्यान्न पुस्तक सहयाेग गरेकाे छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मकवानपुरले मकवानपुरको भीमफेदी गाउँपालिकास्थित आइसोलेसन वार्डलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । शनिबार महासंघ मकवानपुरले भीमफेदी आइसोलेसन पुगेर चामल, चिउरा, दाल, तेल, अण्डा, चाउचाउ, बिस्कुट, पानी, साबुन सहयोग गरेको हो ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो । यसअघि पनि नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मकवानपुरले हेटौंडा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
यसैगरी निजीक्षेत्रको सक्रियतामा सञ्चालित पल्पसा आइसोलेसन सेन्टरलाई पुस्तक सहयोग गरिएको छ । कोभिड–१९ संक्रमित भई चिकित्सकको निगरानीमा आइसोलेसन सेन्टरमा बस्दै आएका संक्रमितलाई अध्ययन गर्न पुस्तकालय अभियान समूह मकवानपुरको समन्वयमा सचेत नागरिक युवा समूह मकवानपुरले ६ हजार रुपैयाँ बराबरको १९ थान पुस्तक शनिबार आइसोेलेसन सेन्टरलाई हस्तान्तरण गरिएको हो ।

सचेत नागरिक युवा समूह मकवानपुरका अध्यक्ष शिव नारायण श्रेष्ठले पल्पसा आइसोलेसन सेन्टरका संयोेजक कृष्ण कटुवाललाई पुस्तक हस्तान्तरण गरेका हुन् ।